Logo

देउवालाई भ्याइनभ्याइ, नेतादेखि राजदूतसम्मको बुढानीलकण्ठ दौडधुप



काठमाडौं, १४ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शक्ति एकाएक बढेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि अबको सत्ता समिकरणको अभ्यास चल्दै गर्दा देउवाको शक्ति बढ्न गएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको विभाजित समूह वैधानिक रुपमा पनि विभाजित भएमा देउवा निर्णायक शक्ति बन्नेछन् । उनले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमध्ये जसलाई साथ दियो उही प्रधानमन्त्री बन्न सक्नेछ । देउवालाई ओली र प्रचण्डमध्ये जसले साथ दिएपनि प्रधानमन्त्री बन्न सक्ने अवस्था हुनेछ ।

राजनीतिक समिकरण मिलाउने प्रयासहरु भइरहँदा देउवालाई भेट्न विभिन्न राजनीतिक दलका नेताहरुको दौडधुप चलेको छ । बुढानिलकण्डमा १२ फागुनमा प्रचण्ड र माधवकुमार नेपाल पुगेर सत्ता समिकरणको कुरा गरेका थिए । सोही दिन देउवासँग चिनियाँ राजदूत होउ यान्छीले पनि भेटिन् ।

बुढानिलकण्ठ पुगेर यान्छीले भेटेपछि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि भेटवार्ता गरेका थिए । क्वात्राले १३ फागुनमा पनि बुढानिलकण्ठमा देउवासँग कुराकानी गरे ।

पछिल्लो समय देउवा निवासमा विभिन्न राजनीतिक दलका नेताहरु पुग्न थालेका छन् । ओली समूहबाट पनि नेताहरु पुग्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्