काठमाडौं, फागुन १७ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा २ अर्ब ५५ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । नेपाली सिमेन्ट तथा क्लिंकर उद्योगहरू आंशिक रूपमा सञ्चालन भई पूर्ण क्षमतामा उत्पादन नभएपछि आत्मनिर्भर उन्मुख र बढी लगानी भएको यो क्षेत्रमै आयात बढ्दो क्रममा देखिएको छ ।
चालू आवको पहिलो महीना साउनमा ५१ करोड ३४ लाख मूल्यको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । गत आव २०७६/७७ को साउनमा २४ करोड ४२ लाख मूल्य बराबरको सिमेन्ट तथा क्लिंकर आयात गरेको थियो ।
नेपालमा पूर्वाधार निर्माणको सिजन शुरू भएसँगै भारतबाट यी वस्तुको आयात पनि क्रमिक रूपमा बढ्दै आएको छ । कात्तिकदेखि जेठ अन्तिमसम्म पूर्वाधार निर्माणको सिजन मानिए पनि मङ्सिरदेखि मात्रै निर्माण अघि बढ्ने गरेको पाइन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार कात्तिकमा यी वस्तुको आयात शून्यप्रायः रहेको छ । तर, मङ्सिरदेखि भने सिमेन्ट तथा क्लिंकरको आयातमा शुरू महीनाको तुलनामा बढ्दो क्रममा रहेको छ ।
विभागका अनुसार चालू आवको असोजमा १ अर्ब ९ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएकोमा मङ्सिरसम्म आइपुग्दा आयात बढेर १ अर्ब ४१ करोड पुगेको छ । यो क्रम वृद्धि हुँदै आएको छ । माघसम्म आइपुग्दा साढे २ अर्बभन्दा बढीको सिमेन्ट तथा क्लिंकर आयात भएको छ ।आर्थिक अभियान दैनिकबाट