काठमाडौं, फागुन १७ । सरकारले औषधि ऐन २०३५ संशोधन गरी निजीक्षेत्रलाई समेत गरी कोरोना खोप आयातको बाटो खोलेको तीन महीना बित्दा पनि निजीक्षेत्रले आयातका लागि सक्रियता देखाएको छैन । सरकारले गत मङ्सिर पहिलो साता अध्यादेशमार्फत ऐन संशोधन गरी निजी कम्पनीले पनि औषधि व्यवस्था विभागमा दर्ता भई खोप आयात गर्ने बाटो खोलेको थियो ।
खोप आयातको बाटो खोलेपछि नेपालका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटको आधिकारिक विक्रेता हुकम डिस्ट्रिब्युटर्स एण्ड लजिस्टिक प्रालि विभागमा दर्ता भएको थियो । सिरम अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप उत्पादन गरिरहेको कम्पनी हो ।
यद्यपि, भारत सरकारले सिरमले उत्पादन गरेको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकार–सरकार (जीटूजी) मोडलमार्फत खोप ल्याएको थियो ।
दर्ता भए पनि हुकमले खोप आयातका लागि कुनै प्रक्रिया अघि नबढाएको विभागले बताएको छ । यसैगरी चीनले नेपाललाई अनुदानमा खोप उपलब्ध गराउने निर्णय गरेपछि विभागमा चिनियाँ कम्पनी सिनोफार्म दर्ता भएको छ ।
चिनियाँ राजदूतावासको सहजीकरणमा उक्त कम्पनी विभागमा दर्ता भएको हो । यसबाहेक अन्य कम्पनी विभागमा दर्ता भएका छैनन् । ‘एउटा निजी र अर्को चिनियाँ गरी दुईओटा कम्पनी दर्ता भएका छन्,’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने । औषधि आयातको प्रक्रिया एवं दर्ताबारे निजी कम्पनी हालसम्म बुझ्न समेत नआएको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।