Logo

पालबाट पक्की भवनमा



टिस्टुङ, १९ फागुन । विसं २०७२ को गोर्खा भूकम्पले भवन भत्काएपछि मकवानपुरको पर्यटकीय क्षेत्र सीमभन्ज्याङमा रहेको प्रहरी चौकी ‘टेन्ट’को ओत लाग्न बाध्य भयो । उसै त बाह्रैमहिना जाडो हुने दुई हजार ६०० मिटर उचाइको डाँडा, वर्षायाममा पानी चुहेर झनै बसिनसक्नु । आम समुदायको सुरक्षामा खटिनुपर्ने प्रहरी आफैँ असुरक्षित भएर पनि काममा खटिएकै थिए ।

यसरी नै सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरीले पाँच वर्ष काटे । यस वर्षको जाडो यामले बिदा लिनै लाग्दा भने सीमभन्ज्याङ प्रहरी चौकीले नयाँ पक्की घर पाएको छ । सिमभञ्ज्याङ उत्तरी मकवानपुरको थाहा नगरपालिका–४ मा पर्छ । नेपालकै सबैभन्दा जेठो त्रिभुवन राजपथबाट थाहा नगरपालिका प्रवेश गर्ने दक्षिणी नाका यही हो ।

मुलकमा शान्ति प्रक्रिया शुरु भएपछि २०६४ सालमा सिमभन्ज्याङमा इलाका प्रहरी कार्यालय पालुङअन्तर्गत रहने गरी प्रहरी चौकी स्थापना गरिएको थियो । प्रहरी चौकी स्थापना भए पनि उपयुक्त भवनको अभाव हुँदा प्रहरी टोली ‘गुफाजस्तो’ सानो भवनमा बस्दै आएको थियो ।

त्यही भवन पनि भूकम्पले भत्काएपछि प्रहरी आफै विपद् जोखिमका दृष्टिले असुरक्षित बन्दै आएको थियो । अहिले चार कोठे पक्की भवनमा बस्न पाउँदा सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश थापा निकै खुशी हुनुहुन्छ । ‘टेन्टमा बसिनसक्नु थियो, ठाउँठाउँमा च्यातिएर प्वाल परेका थिए, जीवन कष्टकर थियो,’ टेन्टमा बस्दाको अनुभव सुनाउँदै उनले भने, “अहिले त निकै सुविधा भएको छ ।

कार्यस्थलमा खटिनु नपर्दा ढुक्कले सुत्न पाइने भएको छ ।” यसअघि कार्यस्थलमा नरहँदा पनि ढुक्कले सुत्न नसकिने हुँदा काममा खटिएका प्रहरीसरह खडा भइरहनुपर्ने बाध्यता रहेको उनले बताए। रासस



प्रतिक्रिया दिनुहोस्