Logo

आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने



ताप्लेजुङ, १९ फागुन । मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आगलागीबाट पीडित पाँचजना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार र पाँचजना भन्दा बढी परिवार भएकालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ ।

यस्तै राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाइने निर्णय भएको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले मेरिङदेन गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय भएको हो । यसैबीच आज नै प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली राहत लिएर आगलागी क्षेत्रमा आउने बताइएको छ । अहिले दिउँसो केही रातका प्याकेज लिएर मुख्यमन्त्री शेरधन राईसहितको टोली आउने प्रजिअ पाण्डेले जानकारी दिए । यता पीडित परिवारको दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा समेत योजना बनाएर अघि बढ्ने तयारी भएको छ ।

मङ्गलबार बिहान ९ बजेदेखि भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए । आगलागी भएका घरमा डेरा बस्नेसमेत गरी ५५ परिवार विस्थापित बनेको प्रारम्भिक तथ्याङ्क बाहिर आएको छ । क्षतिको थप विस्तृत विवरण सङ्कलन भइरहेको मेरिङदेन गाउँपालिकाले जनाएको छ । पीडित परिवारलाई तत्कालका लागि आवास र खाद्यान्नको व्यवस्थापन मेरिङदेन गाउँपालिका, उद्योग वाणिज्य सङ्घ र रेडक्रसले मिलाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्