सुस्मिता नेपाल : हिजोआज म विदेशीहरूलाई नेपाली भाषा पढाउँछु । पढाउन मलाई मज्जा लाग्छ । विश्वभाषा क्याम्पसमा भाषा सेमेस्टरमा विभाजित गरेर पढाइन्छ । एउटा सेमेस्टरका लागि ६ महिनाको अवधि हुन्छ । नेपाली भाषाका लागि अहिले विश्वभाषामा ६ सेमेस्टरसम्मको पढाइ हुन्छ र म पहिलो सेमेस्टरको कक्षामा पढाउँछु ।
विभिन्न देशका विद्यार्थीहरू भाषा पढ्न आउँछन् । कक्षामा उनीहरू एउटा सुन्दर बगैँचाका विभिन्न रङका फूलहरूजस्तै देखिन्छन् । कोही गोरा, कोही गहुँ गोरा, कोही काला । मान्छे जहाँका भए पनि रगत त रातो हुन्छ तर छालाको रङ फरक हुने रहेछ । कपालको रङ पनि कालो, सेतो, खैरो । आँखाको रङ पनि नीलो, कुहिरो र कालो । यी कुराहरू एकैसाथ देख्दा मनमा पनि फरक किसिमको अनुभूतिले अनौठो आकार बनाउने रहेछ । यस्तो बगैँचामा बसेर पढाउनुको आनन्दै बेग्लै किसिमको हुने रहेछ । पहिलो सेमेस्टरमा उनीहरू भरखर सिक्दै गरेका हुन्छन् ।
मैले अमेरिका, बेलायत, अफ्रिका, नर्वे, स्वीडेन, डेनमार्क, स्कटल्याण्ड, जर्मनी, नेदरल्याण्ड, अष्ट्रेलिया, चाइना, मलेसिया, ताइवान, सिङ्गापुर, बेल्जियम, श्रीलङ्का, बाङ्गलादेश, पाकिस्तान, जापान, उत्तर कोरिया, दक्षिण कोरियाका विद्यार्थीहरूलाई पढाएँ । धेरै जापानी र कोरियनलाई पढाएँ । उनीहरूलाई पढाउँदा म उनीहरूका भाषा संस्कृति पनि पढ्ने अवसर पाउँछु । मानिसका आफ्नै चालचलन, रहनसहन अनि व्यवहार कस्तो फरक हुने रहेछ ।
नेपालमा राम्रो मानिने केही कुरा विदेशमा नराम्रो मानिने रहेछ । त्यस्तै विदेशमा राम्रो मानिने केही कुरा नेपालमा नराम्रो मानिने रहेछ । उदाहरणका लागि- नेपालमा खाना खाँदा हातले खाने चलन छ । पाहुनालाई खाना खुवाउँदा थपी थपी खुवाउने चलन छ । पुग्यो भन्दा पनि कर गर्ने चलन छ । खाना थपेर खुवाइएन भने पाहुनाको इज्जत नगरिएको भन्ने बुझिँदो रहेछ । तर युरोपका देशहरूमा खाना खाँदा कतै काटा,चम्चा र छुरीले खाने चलन छ । पाहुनालाई खाना खुवाउँदा कर गर्ने चलन छैन रहेछ । खाना पुग्यो भनेपछि थप्नु नराम्रो मान्दा रहेछन् । कर गरेर खाना थपिदियो भने पाहुनाको इज्जत नगरिएको भन्ने बुझिने रहेछ ।
युरोप अमेरिकामा आफूलाई चाहिने जति खाना आफ्नै इच्छाले खान्छन् भने नेपालमा खाना नथपिदिए आधा पेट लिएरै उठ्छन् । जसरी नेपालमा रातो कपडाको महत्त्व हुन्छ भने युरोपमा सेतो कपडाको । बिहेमा यहाँ रातो कपडा शुभ मानिन्छ भने विदेशका केही देशमा सेतो कपडा शुभ मानिन्छ । बिहेमा यहाँ रातो कपडा लगाएर जान्छन् । सेतो कपडा त यहाँ बाबुआमा, पतिको मृत्यु भएर शोक बार्दा लगाइने चलन छ । बिहे गरेकी नारीले सेतो कपडा लगाउँदिनन् ।
भाषा सिक्न चहानेहरूले भाषासँग जोडिएर आएका खाना, पहिरन, हिँडाइ, गीत सङ्गीत, रीतिरिवाज, धर्म, सम्बन्ध अनि वातावरणको पनि अध्ययन गर्नु आवश्यक हुन्छ । यी कुराहरू अध्ययन गर्नेले भाषा सिक्दा सजिलको अनुभूति गर्न सक्छ भन्ने मलाई लाग्छ । भाषामा देश समाजको संस्कार जोडिएर आएको हुन्छ । मानिसहरूको आफ्नै पहिचान हुन्छ ।
फरक फरक देशका फरक फरक भाषा, संस्कृति, रहनसहनले मानिसलाई बेग्लै किसिमको अवधारणा बनाउने अवसर दिने रहेछ । हो, पढाउँदा मैले यस्तै अवसर प्राप्त गर्ने गरेकी छु । नेपालको भाषा सिकाउँदा यहाँको संस्कार अनि चालचलन पनि सिकाउनु पर्ने हुन्छ । परिचयबाट सुरु गर्दै अगाडि बढ्दा कतिपय कुरा उनीहरूको संस्कार अनि चालचलनसँग मेल नखाने पनि हुने रहेछ ।
कक्षामा कुराकानी गर्दा सम्बन्धको चर्चा भएको सम्झन्छु । केटासाथी र केटीसाथीको बारेमा । केटासाथी र केटीसाथी भन्नले यहाँ सामान्य अरू साथीहरू जस्तै भन्ने हामी बुझ्छौँ तर विदेश केही देशमा विशेष किसिमले लिइने रहेछ । उता बिहे अगाडि नै सँगै बस्ने साथीलाई केटासाथी र केटीसाथी भनिने रहेछ तर यहाँ केटाकेटी बिहे अगाडि सँगै बस्दैनन् । त्यसरी केटाकेटीसँगै बस्दा समाजले स्वीकार्दैन । बाबुआमाले पनि आफ्ना छोराछोरीलाई बिहे अगाडि सँगै बस्ने अनुमति दिँदैनन् ।
यही विषयको बारेमा एउटा प्रसङ्ग यहाँ जोड्न मन लाग्यो । केही वर्ष पहिला मैले पढाउने कक्षामा पचास वर्षकी अमेरिकन विद्यार्थी थिइन् । उनी साह्रै रमाइली र उत्साही थिइन् । यस्ती मान्छे कक्षामा केही दिनदेखि निराश भएकी थिइन् । उनमा आएको निराशा देखेर मलाई कस्तो कस्तो लागेको थियो । हुन त उनी सधैँ रमाउँथिन् । साथीहरूसँग पानि हँसाउने पाराले कुराहरू गर्थिन् । मनमा लागेका कुराहरू मज्जासँग भन्ने गर्थिन् तर अचानक उनी त्यसरी निराश भएको देखेर कक्षाका अरू विद्यार्थीहरू पनि खुसी हुन सकेका थिएनन् ।
एक दिन उनको अनहारमा खुसी देखियो । उनी खुसी भएर कक्षामा आउँदा उनका सबै साथीहरू पनि खुसी भए । उनको खुसीको बारेमा एकजना उनको साथीले सोधे, ‘तपाईं खुसी छ हामी पनि खुसी छ । आज खुसी छ किन ? भन्न मिल्छ ? ‘ ती जर्मनले नेपाली भाषामै यसरी कुरा गरे । कक्षा हाँसोमा गुञ्जियो । मलाई पनि रमाइलो लाग्यो उनीहरूको कुरा सुनेर । अमेरिकन विद्यार्थीले मन्द मुस्कानमा आफ्नी छोरीको बारेमा भनिन् । केही दिनदेखि उनी आफ्नी छोरीको बारेमा चिन्तित रहिछन् । छोरीको उमेर बढ्दै गएको तर उसले कुनै केटा साथी बनाउन सकेकी रहिनछ । अमेरिकामा आफ्ना छोरा होस् वा छोरीले पन्ध्र-सोह्र वर्षको उमेरदेखि नै केटा वा केटी साथी बनाउँदा रहेछन् । समयमा आफ्ना छोरा वा छोरीले केटा वा केटी साथी बनाउन सकेनन् भने आमाबाबुलाई चिन्ताले घेर्ने रहेछ । उनको कुराबाट मैले यही बुझेँ त्यतिबेला । छोरीका अरू साथीहरूले केटासाथी बनाइसकेका रहेछन् । यही कुराले उनलाई पनि बेला बेलामा सताउँदो रहेछ । आफ्नै छोरीमा केही कमी छ कि भनेर उनले पत्ता लगाउने अनेक बाटाहरू खोजिछन् तर सफल हुन सकिनछन् । दिक्क भएर नेपाल आएकी रहिछन् । यस किसिमको मानसिक अवस्थामा छोरीले अमेरिकाबाट फोन गरिछ, ‘मामा, आई एम सो ह्याप्पी । मलाई नौ जना केटा साथीले प्रस्ताव राखे । मलाई सबै केटा साथीहरू मन परेका छन् तर कुन चाहिँलाई केटा साथी बनाउने हो भनेर निर्णय गर्न सकेकी छैन ।’
उनलाई आफ्नी छोरीलाई नौ जना केटाहरूले मन पराएकोमा गर्व भएछ । उनले पनि छोरीलाई भनिछन्, ‘तेरो भित्री मनले जसलाई चाहन्छ त्यही केटा रोज् न त ।’ छोरीको कुराले उनलाई खुसी बनाएछ । यही कुरा उनले सबैलाई सुनाइन् । अब उनी छोरीको बारेमा ढुक्क छिन् रे । उनका साथीहरूले उनलाई बधाई दिए । मैले भने उनलाई त्यतिबेला के भन्नुपर्छ भन्ने कुरा सोच्नै सकिनँ । मेरो समयको कुरा मनमा झलझली चित्रजस्तै आउन थाले । म सानी हुँदा केटाहरूसँग बोल्नु पनि अपराधजस्तै मानिन्थ्यो, केटासाथी बनाउनु त धेरै परको कुरा ।
कुनै एउटा केटाले मन पराएको वा केटीले केटालाई मन पराएको कुरा समाजले अहिलेको परिस्थितिमा पनि त्यति सजिलै स्वीकार गर्न सकेको जस्तो मलाई लाग्दैन । नौ जना केटाले छोरीलाई मन पराए, म खुसी छु भनेर कुन चाहिँ आमाबाबुले गर्वका साथ भन्न सक्छन् यहाँ ? हाम्रो संस्कृतिले यो कुरालाई छुट दिएको छैन । युरोप, अमेरिकाका देशहरूमा आफ्नो छोरा वा छोरीले आफूलाई मन नपर्ने केटा वा केटी साथीसँग छुटेर अर्को साथी बनाउँदा पनि राम्रो मानिने चलन रहेछ । यहाँ बिहे भएपछि केटाले होस् वा केटीले होस् मन परे पनि मन नपरे पनि सँगै बस्नु पर्ने चलन छ ।
सहरिया समाजमा मुखले त छोरी वा छोराले कुनै केटी वा केटा मन पराएको छ भने हामी स्वीकार्छौं भनेर बाबुआमाले भन्ने गरेको पाइन्छ । केही परिवारले गरेका पनि छन् तर धेरैले स्वीकार गर्न सकेको जस्तो अनुभूति हुँदैन मलाई । यहाँ पनि केही परिवर्तन आएको छ । एसियाका देश जापान कोरियामा पहिला नेपालको जस्तै थियो रे । अहिले सम्बन्धको बारेमा परिवर्तन भएको छ रे । यहाँ नेर केटाकेटीको सम्बन्धको बारेमा स्वदेश र विदेशमा कति फरक कुरा हुने रहेछ भन्ने कुरा मैले बुझेँ ।