काठमाडौं, १९ फागुन । नेकपा दाहाल–नेपाल समूहका नेता योगेश कुमार भट्टराईको नेतृत्वमा ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्प पीडितसरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष ज्ञापन पत्र बुझाइएको छ । ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका –३ मा रहेको दोभान बजारमा फागुन १८ गते आगलागी भइ ४९ घर जलेर ध्वस्त भएका थिए भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए ।
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्निपीडतको दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्प पीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताएका थिए ।
तत्कालीन राहतको रुपमा गृहमन्त्रालयले प्रति परिवार १५ हजार रुपैँयाको दरले पठाइसकेको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम