बैतडी, २० फागुन । केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै/छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले यस्तो जानकारी दिएको हो ।
प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले नागरिकका गुनासो सुन्ने र शान्तिसुरक्षा कायम गर्न ‘थप के कुरा गर्नुपर्छ’ भनेर कार्याक्रम आयोजना गरिएको जानकारी दिए । उनले भने, “हामीले आयोजना गरेको कार्यक्रममा उपस्थित व्यक्तिले नै परिवार र आफन्तबाटै जोगिन गाह्रो भएको बताउँदै आएका छन् । ”
जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन १८ गते मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका– ५ का राजबहादुर चन्दले आफ्ना तीन महिने छोराको हत्या गर्नुका साथै बुबाआमा, श्रीमती र भाइलाई कुटपिटको गरेको घटना भएको थियो ।
यसका साथै गत माघ अन्तिम सातातिर जिल्लाको पुर्चौडी नगरपालिकामा बुबाले आफ्नी छोरीलाई गोली हानी हत्याको घटना र गत माघ २१ गते दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा भाइ नातापर्ने दिनेश भट्टको संलग्नताको आरोप लागेको छ ।
ती केही आपराधिक घटना परिवार र आफन्तबाटै भएको जनाइएको छ । प्रनाउ अधिकारीले भन्नुभयो,“घरपरिवारबाटै हिंसा र आपराधिक घटना हुन थालेपछि प्रहरीलाई सुरक्षा चुनौती बढेको छ । ” रासस