काठमाडौं, फागुन २१। सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहने दाबी गरिरहेका बेला मुलुकको अर्थतन्त्रमा पहिलोपटक मन्दी देखिएको छ । अघिल्लो र चालू आर्थिक वर्ष (आव)को २ त्रैमास निरन्तर ऋणात्मक देखिएकाले मुलुकमा आर्थिक मन्दी भएको हो ।
अर्थशास्त्रीहरूका अनुसार लगातार २ त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक बन्यो भने त्यसलाई मन्दी मानिन्छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकले मुलुक मन्दीमा गएको पुष्टि हुन्छ । स्रोतले नेपालको इतिहासमा यस्तो पहिलोपटक भएको जानकारी दिएको छ ।
गतवर्ष आवको चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १५ दशमलव ४ प्रतिशत ऋणात्मक थियो । चालू आव २०७७र७८ को पहिलो त्रैमासमा समेत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४ दशमलव ६ प्रतिशतले ऋणात्मक भएको तथ्यांकले देखाएको छ । गत आवको चौथो त्रैमासमा अर्थतन्त्र व्यापक रूपमा संकुचन हुँदा गत आवको कुल गार्हस्थ्य उत्पादन १ दशमलव ८८ प्रतिशतले संकुचित आएको छ । केन्द्रीय तथ्यांक विभागले आधार वर्ष २०००र२००१ लाई परिवर्तन गरेर २०१०र११ को बनाई यो तथ्यांक सार्वजनिक गरेको हो ।
अर्थतन्त्रले यति क्षति बेहोर्नु परेका कारण कोभिड महामारीले आर्थिक गतिविधिमा असर पारेकाले हो । कोरोना महामारीका कारण धेरै उद्योग बन्द रहेकाले तथा पर्यटन क्षेत्र सुस्ताएकाले आर्थिक वृद्धिदर घटेको हो ।
आधार वर्ष परिवर्तन गर्नुअगाडि नेपालको गतवर्षको कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब रहेको थियो । आधार वर्ष परिवर्तन गरेपछि नेपालको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन १ खर्ब ७६ अर्बले बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । नयाँ आर्थिक क्रियाकलापलाई समेट्न आधार वर्ष परिवर्तन गर्ने गरिन्छ । विसं २०७२ मा आधार वर्ष परिवर्तन गर्ने तयारी गरिए पनि विनाशकारी भूकम्पका कारण यो पछि धकेलिएको थियो । विभागले अहिलेसम्म ५ पटक आधार वर्ष परिवर्तन गरिसकेको छ ।
आधार वर्ष परिवर्तन गरेसँगै नेपालीहरूको प्रतिव्यक्ति आय पनि बढेको छ । पुरानो आधार वर्षका अनुसार गतवर्षमा नेपालीको प्रतिव्यक्ति आय १०९७ अमेरिकी डलर थियो । आधार वर्ष परिवर्तनपछि गतवर्षको कुल प्रतिव्यक्ति आय १ हजार १४८ अमेरिकी डलर पुगेको छ । यो अघिल्लो आव २०७५र७६ को भन्दा २३ अमेरिकी डलर कम हो । त्यो वर्ष १ हजार १७१ अमेरिकी डलर कुल प्रतिव्यक्ति आय भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।