Logo

नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर



सुर्खेत, फागुन २१ । चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्‍यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ।

सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्‍यो।

‘संस्थाले उपलब्ध गराएका कागजातमा शंका लागेपछि सम्बन्धित वडामा बुझेका थियौं,’ प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद देवकोटाले भने, ‘कामै नगरेर नक्कली बिल र कागजात पेस गरेको पाइयो।’ वडाले पेस्की फर्छ्यौटका लागि पटक–पटक पत्र पठाएको छ। नमुना समाजका पदाधिकारी अहिले सम्पर्कमा छैनन्।

गाउँपालिकासँग भएको सम्झौतामा तीन वर्षको अवधिमा वडा नम्बर–१ को सुब्बा टोल, वडा नम्बर–२ को काँडापोखरी, वडा नम्बर–३ को काँडाघुवानी र वडा नम्बर–६ को पुडे टोललाई नमुना गाउँ बनाउने उल्लेख छ। यस अन्तर्गत टोलहरूमा सरसफाइ, नमुना बस्ती निर्माण, होम–स्टेलगायत कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

सम्झौताअनुसार काम गर्नुको सट्टा नमुना समाजले पेस्की फर्छ्यौटका लागि स्थानीयको किर्ते हस्ताक्षर र बिल बनाएर गाउँपालिकामा बुझाएको छ। स्थानीयका अनुसार चारमध्ये दुईवटा वडाका दुई टोलमा एक रुपैयाँ पनि नमुना समाजले खर्च गरेको छैन। तर, तालिम सञ्चालन गरेको, गाडी भाडा उपलब्ध गराएको, खाना–खाजालगायत बिल र भपाई पेस गरिएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्