अविवाहित र घरवारविहीन कृष्णप्रसाद भट्टराई (किसुनजी) का निम्ति नेपाली कांग्रेस पार्टी परिवार भयो भने पार्टी कार्यालय घर। किशोर अवस्था र अध्ययन वाराणसीमा भएको र भारतीय स्वतन्त्रता आन्दोलनलाई नजिकबाट नियालेकाले उहाँको राजनीतिक जीवनमा गान्धीको प्रभाव रह्यो। राजनीतिमा निष्ठा र मूल्य-मान्यताप्रति प्रतिबद्धताकै कारण उहाँ पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्षसम्म जेल बस्नुभएको जगजाहेर छ। केही मौलिक गुण, स्वभाव र चरित्रका कारण राष्ट्रिय राजनीतिमा किसुनजीको अलग पहिचान छ ।
किसुनजीको सम्पूर्ण जीवनको ध्येय नै नेपालमा लोकतान्त्रिक शासन प्रणालीको स्थापना रह्यो। उहाँको राजनीतिक जीवनमा लोकतान्त्रिक आचरण र व्यवहारका दृष्टान्तहरू देखिन्छन्। आफ्ना समकक्षीहरूमध्ये तीक्ष्ण र उच्च राजनीतिक संस्कारका कारण पनि संस्थापक नेता बीपी कोइरालाले किसुनजीलाई आफ्नो उत्तराधिकारी चयन गर्नुभएको हो।
१४ वर्ष लामो जेल जीवनपछि ०३२ सालमा किसुनजीलाई रिहा गरियो भने १६ पुस ०३३ मा बीपी कोइराला, गणेशमान सिंह र पार्टीका अन्य वरिष्ठ नेताहरू राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कनुभयो। किसुनजी देशभित्रै नेपाली कांग्रेसको आन्दोलन र प्रेरणाको प्रतीक भएर रहनुभएको थियो। जेल मुक्त भएपछि बखुण्डोल, ललितपुरस्थित आफ्ना भान्जाको निवासमा बस्नुहुन्थ्यो। त्यो निवास नेपाली कांग्रेसको गतिविधिको केन्द्रमा परिणत भएको थियो।
किसुनजी दिवा समय करिब ३ बजे हातमा छाता लिएर आफ्ना केही सहयोगीका साथ पैदल न्युरोडसम्म जाने गर्नुहुन्थ्यो। किसुनजी बखुण्डोलस्थित आफ्नो निवासबाट सिद्धिनारायणजीको रेडियो पसल न्युरोडसम्म नियमित जाने/आउने क्रमको पनि गहिरो राजनीतिक अर्थ र महत्त्व थियो। रेडियो पसलमा एक घन्टाको भेटघाट, जमघटबाट पार्टी र अन्य क्षेत्रका सूचनाहरू उहाँलाई प्राप्त हुन्थ्यो। यो नियमित राजनीतिक यात्रालाई उहाँले राजनीतिक संस्कृतिको जागरण यात्रा भन्ने गर्नुहुन्थ्यो। त्यस समय उहाँको व्यक्तिगत जीवनका आवश्यकताहरू पीएल सिंहलगायत अन्य शुभचिन्तकले पूरा गर्नुहुन्थ्यो।
जनमतसंग्रह घोषणापछि राजनीतिक दलहरूले आफ्नो दलको नामअगाडि प्र. (प्रतिबन्धित) लेखेर पार्टीको साइनबोर्ड राखेर कार्यालय सञ्चालन गर्न पाउने वातावरण तयार भयो। यही अवसरको लाभ उठाउँदै कांग्रेसले पनि प्रारम्भमा कमलादी, त्यसपछि जमल हुँदै बहुदलीय व्यवस्थाको स्थापनापछि महाराजगन्ज, नयाँ बानेश्वर, कालीमाटी र करबि एक दशकपछि सानेपा, ललितपुरमा आफ्नै निजी भवनमा पार्टी कार्यालय सञ्चालन गर्यो। त्यसरी किसुनजीको न्युरोडसम्मको पैदल यात्रा अब पार्टी कार्यालयतर्फ हुन थाल्यो।
२०३२/३३ सालको कुरा होला। किसुनजीले लन्डनको हाइट पार्कमा हुने स्वतन्त्र वक्तव्य, मन्तव्य कार्यक्रम जस्तै न्युरोडको भूगोल पार्कमा राख्ने कार्यक्रम बनाउनुभयो। किसुनजीको योजना अनुसार निर्धारति मिति र समयमा सन्ध्याकालमा भूगोलपार्कमा कोणसभा भयो, लन्डनको हाइट पार्ककै शैलीमा। यस कार्यक्रममा वक्ता रामशरण महत हुनुहुन्थ्यो। महतको वक्तव्य समाप्त भएपछि उपस्थित जनसमुदायबाट वक्तालाई प्रश्नहरू राख्न आग्रह गरयिो, बौद्धिक स्तरको प्रश्न राख्न संकोचले हो वा के कारण हो, प्रश्न कतैबाट नआएपछि श्रोतादीर्घामा जनसाधारणका रूपमा आफूलाई सहभागी गराउनुभएका किसुनजीले स्वयं हात उठाएर महतलाई प्रश्न गर्नुभएको थियो।
०४६ सालको जनआन्दोलनपश्चात् गठित अन्तरिम सरकारको प्रधानमन्त्री हुँदा पनि लोकतान्त्रिक संस्कार निर्माणको शृंखला उहाँले शनिबारका दिन कायम राख्नुभएको थियो। प्रत्येक शनिबार बिहान ९/१० बजे उहाँ नयाँ बानेश्वरमा रहेको लक्ष्मीको चिया पसल आउनुहुन्थ्यो, जहाँ ठूलो संख्यामा कांग्रेसजन र जनसमुदाय भेला हुने गर्थे। शनिबारकै दिन बिहान उहाँ बानेश्वरस्थित कुबेर शर्माको आमन्त्रणमा उहाँको निवासमा आयोजित चियापान कार्यक्रममा पनि सरकि हुने गर्नुहुन्थ्यो, शर्मा त्यस समय कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्थ्यो। शर्मा निवासमा हुने चियापान कार्यक्रममा विशेष गरी बौद्धिक कांग्रेसजनको जमघट हुने गर्थ्र्यो।
अन्तरमि सरकारको प्रधानमन्त्रीत्वकालमा उहाँले शनिबार बिदाका दिन कहिल्यै सरकारी गाडी प्रयोग गर्नुभएन। बिदाका दिन प्रधानमन्त्रीले सरकारी गाडी प्रयोग नगर्ने नीतिको कर्मचारी वर्गमा पनि नैतिक प्रभाव र दबाब पर्यो। त्यसपछि वरिष्ठ कर्मचारी, सचिव, उपसचिव, अधिकृतहरूले पनि शनिबार र अन्य बिदाका दिन सरकारी गाडी र पेट्रोल प्रयोग गर्ने प्रवृत्ति धेरै कम हुँदै गएको थियो। त्यति बेला प्रधानमन्त्रीको खर्च गर्न पाउने कोषबाट पनि उहाँले आफ्नो कार्यकालमा एकदम न्यून खर्च गर्नुभएको थियो। भूपू प्रधानमन्त्रीहरूमध्ये यो कोषबाट अति न्यून खर्च गर्ने भट्टराई नै हुनुहुन्थ्यो।
उहाँ पटक-पटक समूहमा, आपसमा पार्टीका अन्तरंग साथीहरूसँग वार्तालापका क्रममा भन्ने गर्नुहुन्थ्यो, ‘म नेपाली कांग्रेसको सभापति भएको समयमै पञ्चायती व्यवस्थाको अन्त्य र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना हुनेछ।’ उहाँले कार्यरूपमा चरतिार्थ गरेर देखाउनु पनि भयो। विसं ०४६ को जनआन्दोलनको आह्वानकर्ता प्रमुख दल नेपाली कांग्रेसको तत्कालीन सभापति उहाँ नै हुनुहुन्थ्यो। ५, ६ र ७ माघ ०४६ मा सर्वोच्च नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा भएको कांग्रेसको सम्मेलनमा पार्टी सभापतिका हैसियतले किसुनजीले नै ७ फागुनदेखि प्रजातन्त्रको पुनःस्थापना हेतु ऐतिहासिक जनआन्दोलनको उद्घोष गर्नुभएको थियो।
नेपाली कांग्रेस ‘मास बेस्ड’ पार्टी भएकाले यस दलमा थरीथरीका, विभिन्न श्रेणी र स्वभाव, संस्कार भएका कार्यकर्ता हुनु स्वाभाविकै हो। यीमध्ये विशेष गरी इमानदार, निष्ठावान्, पार्टीप्रति समर्पित, पीडित र राजनीतिक संस्कारयुक्त कार्यकर्ताहरूप्रति किसुनजीको विशेष स्नेह र रक्षा दृष्टि हुने गर्थ्र्यो। वाक्पटुता, आध्यात्मिक प्रेरणाबाट राजनीति, मानवीय मूल्यद्वारा पोषित भाव उहाँका राजनीतिक व्यक्तित्वका प्रमुख विशेषता थिए। उहाँ दलभित्र आफ्नो नीति र शैलीसँग मतभेद राख्नेहरूसँग पनि सम्मानपूर्ण व्यवहार गर्नुहुन्थ्यो। किसुनजीको अध्ययनको क्षेत्र धर्म, दर्शन र राजनीतिमा केन्द्रित हुन्थ्यो। यसबाहेक नेपाली र भारतीय पत्रपत्रिकाहरू पनि उहाँ नियमित पढ्नुहुन्थ्यो तर उहाँले राजनीतिक, धर्म, दर्शनबारे लेख्ने कार्यहरू कम गर्नुभयो। उहाँको चिन्तन, मनन र कर्म एकसूत्रीय रूपमा नेपाली कांग्रेसको सुदृढीकरण र लोकतन्त्रको स्थापना मात्र रह्यो।