Logo

ओली या प्रचण्ड जस्ले साथ दिन्छ उसैसँग मिलेर प्रधानमन्त्री बन्ने देउवाको दाउ



काठमाडौं, २३ फागुन । प्रधानमन्त्रीको दौडमा नभएको अभिव्यक्ति दिएपनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पछि हटिसकेका छैनन् । उनी पर्ख र हेरको रणनीतिमा देखिएका छन् ।

देउवामाथि काँग्रेस पार्टीभित्र एउटा आशंका छ ओली र प्रचण्डमध्ये जस्ले साथ दिन्छ प्रधानमन्त्री बन्ने । तर, काँग्रेसभित्रको पौडेल समूह कुनै हालतमा ओली समूहको साथमा जान नहुने पक्षमा छ ।

देउवाले लामो समय ओली समूहसँग अघोषित समिकरण गरेका थिए । त्यो समिकरण उनी टुटाइहाल्ने पक्षमा देखिदैनन् ।

काँग्रेसभित्र देउवालाई प्रधानमन्त्रीमा प्रचण्ड या माधवकुमार नेपाललाई समर्थन गरेर जान दबाब बढेको छ । केही नेताहरुले प्रचण्ड र नेपाललाई नमाने जनता समाजवादी पार्टीका महन्थ ठाकुर या डा. बाबुराम भट्टराईमध्ये कुनै एकलाई प्रधानमन्त्रीको प्रस्ताव गरी अविश्वासको प्रस्ताव लिएर जानुपर्ने सुझाव दिइरहेका छन् । तर, देउवा अझै पर्ख र हेरको नीतिमा छन् ।

विश्वस्त स्रोतका अनुसार देउवा नेकपाको वैधानिक विभाजन हुने या नहुनेको पर्खाइमा छन् । तर, देउवाको प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले नेकपाभित्रको ओली समूहलाई फाइदा पुगिरहेको काँग्रेसका एक प्रभावशाली नेता बताउँछन् ।

देउवा ओली या प्रचण्डमध्ये जस्ले समर्थन गर्छ त्यही समूहसँग मिलेर प्रधानमन्त्री बन्ने दाउमा छन् । ओलीसँग मिल्न नहुने दबाबले देउवा अप्ठ्यारोमा छन् ।

ओलीले गत हप्ता सार्वजनिक रुपमा अनुचित तरिकाले प्रधानमन्त्रीको प्रस्ताव कसैलाई नगर्ने र नगरेको बताएका छन् । उनले देउवालाई प्रचण्ड र नेपालले किस्तीमा प्रधानमन्त्रीको प्रस्ताव गरेर लगेको भन्दै व्यङ्ग्य गरे ।

प्रचण्ड र नेपालले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेपनि पौडेल पक्ष सरकारको नेतृत्वमा जान नहुने पक्षमा छ । यो देउवालाई रोक्ने रणनीति हो । बरु काँग्रेसबाट अर्को व्यक्तिको चयन या जनता समाजवादी पार्टीबाट अर्को कुनै नेतालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरी अविश्वासको प्रस्ताव लानेबारे समेत छलफल बढेको बुझिएको छ ।

प्रधानमन्त्री को बन्ने भन्ने कुरा नमिल्दा ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढ्न सकेको छैन । दाहाल-नेपाल समूहको नेकपा, काँग्रेस र जसपाबीच को प्रधानमन्त्री बन्ने सहमति नबन्दा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आइहाल्ने सम्भावना देखिदैन । अविश्वासको प्रस्ताव अगाडि बढेमा असफल भए ओली फेरि एक वर्ष ढुक्कले प्रधानमन्त्री बन्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्