काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध बनेको छ । बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची राखेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकै प्रचण्ड नेपाल समूहले आइतवारको संसद् बैठक बहिष्कार गरेको थियो । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त अध्यादेशको विरोध गर्दै नाराबाजी गरेको थियो ।
पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक शुरू हुँदा प्रधानमन्त्री केपी ओली भने उपस्थित भएनन् । दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बस्न करीब एक घण्टा ढिला भएपछि उनी बैठकस्थलबाटै बाहिरिएका थिए ।
बैठकमा प्रचण्ड नेपाल समूहका नेता एवं सांसद भीम रावलले बैठकको शुरूमै विशेष समय लिएर निर्वाचन आयोगले दलको नामका सम्बन्धमा गरेको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अबको स्थिति के हो आफूहरूले थाहा पाउनुपर्ने बताए ।
रावलले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभालाई ब्युँताउने सर्वोच्च अदालतको फैसलालाई कानूनी हो कि राजनीतिक भनेर प्रश्न समेत गरे ।नेकपा नाम ऋषि कट्टेललाई दिएपछि सत्तारूढ दल नेकपा होइन भने प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर उनले संसद्मा सोधेका थिए । आर्थिक अभियान दैनिकबाट