काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड–माधव पक्ष अन्ततः एमाले र माओवादी अलग÷अलग भएर जाने भएका छन् । पेरिसडाँडामा शनिवार बसेको उक्त पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिएकाले सोहीबमोजिम छुट्टिने निष्कर्ष निकालिएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।
यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालको नेकपा खारेज भएको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि ओली–दाहाल नेतृत्वको नेकपाको अस्तित्व समाप्त भएको थियो ।
माधव–दाहालको स्थायी कमिटी बैठक अघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटेल अर्यालमा शनिवार नै छलफल गरेका थिए । एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको भन्दै पुनः एमालेमै फर्किनुपर्ने बहुमत सदस्यले आवाज उठाएका थिए । आर्थिक अभियान दैनिकबाट