काठमाडौं, २५ फागुन। नेपाल प्रहरीका एक पूर्वडिआइजीको भाइको ठगीको कारण सर्वाेच्च अदालतमा समेत हंगामा मच्चिएको छ । अवकाशप्राप्त डिआइजी रामकुमार खनालका भाई अनुप खनालले बैदेशिक रोजगारीमा पठाइदिने भन्दै गरेको ठगीसम्बन्धि मुद्दाको फैसला लम्बिँदा पीडितहरू अदालतमै गएर रुन थालेका छन् ।खनाललाई बैदेशिक रोजगार न्यायाधीश र सर्वाेच्च अदालतले नै दोषी ठहर गरीसकेको छ । तर, सर्वोच्चको फैसलाविरुद्ध फेरि उनले पुनरावलोकन गराएका छन् । दुई वर्ष नाघेपछि मुद्दा नटुंगिएपछि पीडितहरु झन् पीडामा परेका छन् ।
खनालले मैया श्रेष्ठलाई ६० लाख तथा राजेन्द्र लुईटेललाई २५ लाख रुपैयाँ ठगी गरेका थिए । त्यसमा बैदेशिक रोजगार न्यायाधीशकरणले श्रेष्ठलाई हर्जानासहित ९० लाख तथा लुईटेललाई ३७ लाख ५० हजार रुपैयाँ तिराउने फैसला गरेको थियो । न्यायाधीकरणका तत्कालिन अध्यक्ष सुरेन्द्रसिंह बस्न्यात, सदस्यहरु धीरबहादुर चन्द र लेखनाथ पौडेलको इजसाले १५ भदौ २०७२ मा यस्तो फैसला गरेका थियो । सर्वोच्च अदाललतले पनि त्यसलाई सदर गरिसकेको छ । २७ भदौ २०७५ मा सर्वाेच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले न्यायाधीशकरणकै फैसला सदर गरेको हो । तर, पीडितले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् ।
अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेकाले पीडितहरुले अदालतको फैसलाअनुसार क्षतिपूर्र्ति नपाएका छन् । पटक पटक पेशी सरेकाले आफ्नो घर नै बैंकले लिलामी गर्न लागेको भन्दै पीडितमध्ये एक मैयाँ श्रेष्ठ अदालतमै गएर रुने गरेकी छिन् । ‘गत २० गते मुद्दाको पेशी तोकिएको थियो,’ एक कर्मचारी भन्छन्,‘त्यो दिन पनि अदालत बन्द भयो । उहाँ धाएको धाए हुनुहुन्छ, पेशी सरेको सरै छ ।’बिजुलीबजार बस्ने खनालले घट्टेकुलो निवासी श्रेष्ठका तीन छोरालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ लिएका थिए । १५ असार २०६९ मा खनालले यससम्बन्धि कागज समेत गरेका थिए । बैदेशिक रोजगार विभागका उजुरी परेपछि उनले आफुलाई करकापमा सो कागज गराएको भन्दै मुद्दा दायर गरेकोमा अदालतले उनलाई हराइसकेको छ ।
दोषी ठहर भएपछि खनाल केही महिना जेल समेत बसे । उनलाई दुई वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना भएको छ । केही महिना जेल बसेपछि बाँकी कैद वापत धरौटी राखेर उनी छुटेका थिए । डिआईजी खनाल पदमै हुँदा उनले दाईकै आडमा यसरी ठगी गरेका थिए । अहिले पनि अदालतमा छिटो फैसला हुनबाट रोकेर उनले दुःख दिइरहेका छन् ।-दृष्टिबाट