सद्गुरु : योग-विद्यामा एउटा कथा छ । देवता र दानवहरूको बीचमा युद्ध चलिरहेको थियो । जब बारम्बार युद्ध भइरह्यो अनि धेरै जना मारिने क्रम चलिरह्यो, उनीहरूले समुद्रमा लुकेर रहेको अमृत निकालेर आफूआफूबीच बाँड्ने निधो गरे-ताकि दुवै पक्ष अमर बन्न सकून् अनि आनन्दपूर्वक युद्ध लड्न सकून् । युद्ध यसकारण भयानक हुने गर्दछ, किनकि त्यहाँ थुप्रैको मृत्यु हुन्छ । यदि मृत्यु हुने पक्षलाई सम्हालियो भने युद्ध समेत अद्भुत बन्दछ ।
उनीहरूले आपसमा साझेदारी गरे अनि समुद्र मन्थन गर्ने निर्णय गरे । किंवदन्ती अनुसार उनीहरूले मेरु नामक पर्वत उचालेर त्यहाँ ल्याए अनि एउटा विशाल सर्पलाई मथनी वा डोरीको रूपमा प्रयोग गरी समुद्र मन्थन शुरु गरे । समुद्र मन्थन शुरु भएपछि शुरुवातमा अमृतको सट्टा समुद्रको पीँधबाट घातक विष बाहिर निस्कियो । यसलाई हलाहल भनिन्थ्यो । यो घातक विष विशाल मात्रामा निस्किन थाल्यो । सबै देवताहरू डराए किनकि यति विशाल मात्रामा विष निस्किएको हुनाले पूरै संसार विनाश हुने खतरा थियो । अनि, त्यहाँ कसैमा पनि यसलाई रोक्ने सामर्थ्य थिएन ।
सदाझैँ, जब कुनै पनि परिस्थितिमा केही गर्नको लागि कोही पनि इच्छुक हुँदैनन्, तब सबैले शिवलाई पुकार्छन् । यो परिस्थितिलाई शिवले नै पार लगाउन सक्ने ठानेर उनीहरूले शिवलाई पुकारे अनि विशाल मात्रामा निस्किरहेको विष देखाए । ‘यदि यो फैलियो भने यसले सम्पूर्ण जीवन नष्ट गरिदिन्छ । तपाईंले केही गर्नैपर्छ ।’ सदाझैँ आफ्नो हित-अहितबारे कुनै चिन्ता नै नगरी उनले सहजै विष पिइदिए । उनकी अर्धाङ्गिनी पार्वतीले यो देखिन् र तुरुन्तै गएर उनको घाँटीमा च्याप्प समाइन् । अनि, सबै विष उनको घाँटीमै रोकियो र उनको घाँटी पूरै नीलो भयो ।
यो कथा निकै महत्त्वपूर्ण छ । यो हरेक मानिसको सन्दर्भमा यथार्थ हो । यदि तपाईंले हरेक मानिसको भित्री गहिराइसम्म खोतल्नुभयो भने त्यहाँ एउटै कुरा छ- निरन्तर फैलिरहेको जीवन । यदि यस पक्षसँग मानिसहरूले आफ्नो पहिचान गाँस्ने हो भने उनीहरूको मन र भावना पनि त्यसैअनुरूप काम गर्दछ । तर, यदि तपाईंले उनीहरूलाई सतही रूपमा हेर्नुभयो भने यो महिला, यो पुरूष, यो विदेशी, यो स्वदेशी अनि यस्तै थुप्रै कुरा हुन्छन् । यही पूर्वाग्रह विष हो ।
जब उनीहरूले सतहमा मन्थन गरे, तब सांसारिक विष बाहिर निस्किए । सबै जना भागाभाग गर्न थाले किनकि कोही पनि विषलाई छुन चाहँदैनन् । शिवले संसारको विष पिए अनि त्यो उनको घाँटीमै रोकियो । यदि त्यो विष भित्र गएको भए उनलाई विषले असर गर्ने थियो । तर त्यो घाँटीमै रोकियो, जसकारण उनले चाहेको समयमा त्यसलाई थुकेर फाल्न सक्छन् । यदि त्यो तपाईंको घाँटीमा छ भने तपाईंले त्यसलाई थुकेर फाल्न सक्नुहुन्छ । यदि त्यो तपाईंको शरीरभित्र प्रवेश गऱ्यो भने तपाईंले त्यसलाई बाहिर निकाल्न सक्नुहुन्न ।
यतिखेर तपाईंको राष्ट्रियता, लैङ्गिकता, परिवार, वंशाणुगत पहिचानहरू, जातीय पहिचानहरू, धर्म इत्यादि तपाईंको घाँटीमा रोकिएको छैन । ती सबैथोक तपाईंको प्रत्येक कोषिकामा घुसेका छन् । तपाईंले गर्नुपर्ने काम भनेको त्यसलाई मन्थन गर्नु हो ताकि ती सबै बाहिर निस्किऊन् र तपाईंले त्यसलाई बाहिर थुक्न सक्नुहोस्- अनि, तपाईं यहाँ जीवनको अंशको रूपमा मात्रै रहन सक्नुहोस् !
शिवको घाँटी नीलो देखाइनुको प्रतीकात्मक अर्थ यही हो । उनले संसारको विष आफ्नो घाँटीमा जम्मा गरे ताकि त्यसलाई जब निकाल्नुपर्ने हुन्छ, तब बाहिर थुक्न सकियोस् । यदि त्यो भित्र शरीरमा गएको भए त्यसलाई कुनै पनि तरिकाले बाहिर निकाल्न सकिँदैनथ्यो । एक तरिकाले सम्पूर्ण आध्यात्मिक प्रक्रिया पनि मन्थन गर्ने प्रक्रिया हो- ताकि, तपाईंका सबै पूर्वाग्रह र पक्षपाती धारणाहरू माथि आऊन् अनि एक दिन हामी तपाईंलाई त्यसलाई थुकेर बाहिर फाल्ने बनाउन सकौँ । यदि त्यो निकै भित्र गढेको छ भने त्यसलाई कसरी बाहिर निकाल्ने ? यदि मैले तपाईंको एउटा पूर्वाग्रहलाई बाहिर निकाल्न खोजेँ भने तपाईंको अनुभवमा तपाईंको जीवन नै खोसिँदैछ जस्तो महसुस हुनेछ । तपाईंले आफ्नो लैङ्गिकता, सन्तान, मातापिता वा राष्ट्रसँग जुन पहिचान जोड्नुभएको छ, यदि मैले त्यसलाई तपाईंबाट अलग गराउने कोसिस गरेँ भने, तपाईंको प्राण नै निकालिँदैछ जस्तो महसुस गर्नुहुनेछ । त्यसो होइन, पूर्वाग्रहको विषलाई मात्र बाहिर निकालिएको हो । अत: पूर्वाग्रहहरूको विषलाई बाहिर थुक्ने समय भएको छ !