काठमाडौं, २७ फागुन । नेपाली सेनाका सहायकरथी पंकज कार्की यौन दुव्यर्वहार प्रमाणित भएपछि बर्खास्त भएका छन् । उनलाई एक साता अघि बर्खास्त गरिएको नेपाली सेनाले पुष्टि गरेको छ ।
जर्नेल कार्कीसहित सेनाका दुई महिला पनि बर्खास्त भएका छन् । उनीहरुमाथि कोर्ट अफ इन्क्वायरी गरी अनुसन्धान गर्दा जर्नेल कार्की र दुवै महिला सैनिक पनि दोषी ठहरिएका थिए ।
जर्नेल कार्कीमाथि यौन दुव्यर्वहारको उजुरी परेको थियो । उनीमाथि युएनको शान्ति मिसनमा सुडानमा खटिंदा महिला अधिकृत र २८ नम्बर बाहिनीपति हुँदा अर्की महिला सैनिकलाई यौन दुव्यर्वहार गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । ती महिला अधिकृत मेजर हुन् भने अर्की महिला सिराहास्थित बाहिनीमा कार्यरत थिइन् ।
दुईजना सैनिक अधिकृतबीच विवाद भएपछि यौन दुव्यर्वहारको घटना बाहिर आएको थियो । सहायक बाहिनीपतिले घटना बाहिर ल्याएपछि छानविन भएको थियो । दुई सैनिक अधिकृतबीचको विवाद चुलीमा पुग्दा घटना छताछुल्ल भयो । सैनिक अधिकृतहरु कारबाहीमा परे ।