Logo

भारतमा अहिलेसम्म साढे दुई करोडले लगाए कोरोनाको खोप



२७ फागुन: भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् ।

देशभरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको यो विवरण बिहीबार दिउँसो १ बजेसम्मको भएको मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिए ।

मन्त्रालयले साप्ताहिक रुपमा सार्वजनिक गर्ने गरेको विवरणअनुसार बिहीबार यो विवरण सार्वजनिक गरेको हो ।खोपका कूल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका हुन भने अरु २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएका हुन् ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेक्रम चलिरहेको छ । स्वास्थ्य सचिव भूषणका अनुसार पुने, नागपुर, थाने, मुम्बई, बेङ्गलोर, एर्नाकुलम, अमरावती, जलगाउँ, नासिक, औरङ्गबादलगायतका क्षेत्रमा धेरै सङ्क्रमित रहेका छन् ।महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि एक लाखभन्दा बढी सङ्क्रमित सक्रिय अवस्थामै रहेको पनि उनले जानकारी दिए ।

“धेरै सङ्क्रमित रहेका दश जिल्लामध्ये आठ जिल्ला महाराष्ट्र प्रदेशका मात्रै रहेका छन्,” उहाँले पत्रकार सम्मेलनमा भने ।त्यसैगरी मध्य प्रदेश, गुजरात र हरियाना प्रदेश पनि धेरै सङ्क्रमित भएको प्रदेशमा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।भारतमा पछिल्लो २४ घण्टामा थप २२ हजार ८५४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १२६ सङ्क्रमितको मृत्यु भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्