Logo

काँग्रेसमा देउवालाई चुनौती, संसदीय दलको नेता परिवर्तनको गृहकार्य तिव्र



काठमाडौं, २८ फागुन । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि चुनौती थपिएको छ । पार्टीभित्रका उनका प्रतिद्वन्द्वीले संसदीय दलको नेता परिवर्तनको तयारी सुरु गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले संसदीय दलको नेता परिवर्तनसम्मको तयारी थालेका हुन् । देउवा पटक पटक प्रधानमन्त्री भइसकेको र फेरि पनि उनी नै बन्न खोजेको भन्दै विरोध बढेको छ ।

संसदीय दलको नेता परिवर्तनमा पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधरबीच समेत छलफल भएको बुझिएको छ । कोइराला परिवार समेत देउवाविरुद्ध एकजुट भएको छ । देउवा विरोधी समूहको आन्तरिक बैठक निरन्तर चल्दै आएको छ ।

संसदीय दलको नेता परिवर्तन गरी महामन्त्री डा. सशांक कोइराला या पूर्वमहामन्त्री प्रकाशमान सिंहमध्ये एकलाई बनाउने तयारी समेत भएको छ । दुवै नेतामा सहमती बने एकले देउवालाई चुनौती दिने भएका छन् ।

वर्तमान प्रतिनिधि सभा चुनावलगत्तै भएको काँग्रेस संसदीय दलको निर्वाचनमा देउवालाई त्यतिबेला प्रकाशमान सिंहले चुनौती दिएका थिए । ६३ सांसदमध्ये देउवालाई ४२ र सिंहलाई २१ मत परेको थियो । त्यतिबेला महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सिंहको विपक्षमा उभिएका थिए । पौडेल पक्षधरसँगै कोइराला र सिटौला एकजुट भएमा देउवा अल्पमतमा पर्न सक्ने बुझिएको छ । देउवा विरोधी एकजुट भएमा ३२ सांसद रहेको बुझिएको छ ।

अहिले काँग्रेससँग ६३ सांसदमध्ये मोहम्मद अफताव आलम निलम्बित छन् । बहुमतका लागि ३२ मत पर्याप्त हुन्छ ।



प्रतिक्रिया दिनुहोस्