विमल लामिछाने : पत्रकारिता गरेको लामै समय भए पनि सहरिया परिवेश मेरालागि नयाँ थियो । बजारको नियमलाई उल्लंघन गर्दै बिहान ५ बजेअघि नै म उठ्ने गर्थें । एक दिनको कुरा हो, करिब ६ बजेको थियो पत्रकारिताकै माध्यबाट चिनजान भएका साथी इन्द्रको फोन आयो……. ।
‘हेलो तयारी रहनु है, हामी ९ बजे एउटा कार्यक्रममा जानु छ ।’
मैले जवाफ दिएँ, ‘मेरो म्यागजिनका लागि एउटा रिर्पोटिङ् गर्ने योजना छ, आज मलाई फुर्सद मिल्दैन ।’
‘रिर्पोटिङ् पनि हुन्छ भिजिटिङ् पनि हुन्छ, जानुपर्छ है ।’
उनले ढेट गरेपछि मैले स्वीकारें । चिनजान भएको धेरै नभए पनि भेटघाट र उठबसको हिसाबले हाम्रो मित्रता गाढा भइसकेको थियो ।
उनी र मबीचमा फरक यति थियो कि उनी धनाढ्य परिवारमा हुर्किएका थिए, म मध्यम वर्गको मान्छे । उनले दिएको समय हेर्दै म आफ्नो तयारीमा लागें । उनले दिएको समयमा हामी जम्मा भयौँ । उनैको स्कारपियोमा हाम्रो यात्रा अघि बढ्यो । करिब एक सय मिटर पर अरु २ साथी थपिए, मानौं योजना बनाएजस्तै गरेर चारजना जवानको करिब १ घण्टाको यात्रा पछि सधैं झैँ चिया खाने निधो भयो ।
म त्यसताका चियाको निकै पारखी थिएँ । त्यही भएर होला चिया खाने प्रस्तावलाई मैले सहज स्वीकारें । इन्द्रले स्कारपियो हुइँक्याए र एक आलिसान महलको गेटभित्र हुले । गेटमा बसेका पहरेले हाम्रो प्रवेशमा स्यालौट मारिरहेका थिए । मलाई यो आलिसान महलको प्रवेश असहज भइरहेको थियो । तर केही योजना होला भनेर बोलेको थिइनँ । मजस्तै अरु दुई साथी पनि हाम्रो यात्राको गन्तब्यबारे अन्योलमा रहेछन् ।
स्कारपियो हलको पार्किङ्मा छिर्यो र रोकियो । इन्द्र अघि लागे हामी पछि–पछि । उनकै तालमा हामी तेस्रो तलामा सटासट पुग्यौँ, जहाँ दुबैपट्टि आधुनिक किसिमले सजाएका सफा टेवल र कुर्सीहरु थिए । इन्द्रले त्यही बस्न प्रस्ताव गरे ।
मैले प्रश्न गरें– हामी यहाँ किन आइरहेका हौं ? इन्द्रले हाँस्दै जवाफ दिए- ‘नो प्रोब्लोम । माल हान्ने हो क्या आज ।’
मानौँ उनी रेला गरिरहेका छन् । मैले सोचें- पसलका केही सामानहरु लानु रहेछ क्यारे…। माल भन्नाले मलाई दोकानका सामान होला भन्ने लाग्थ्यो । इन्द्र फुर्कोलो पाराले आफ्नै शैलीमा फोनमा बोल्न थाले ।
‘भान्जी चार थान माल लिएर अस्तिको ठाउँमा आऊ है । हाम्रो एक राउन्ड चिया नसकिँदै हल्का मेकअपमा सजिएका सेतो र खैरो कपाल फररर छाडेका छोटो स्कट र जालिदार कमिज लगाएका चार युवतीको प्रस्थान भयो ।
इन्द्रले उनीहरुलाई हौसलाका साथ स्वागत गरे । हामी भने मुखामुख गर्न थाल्यौं । उनीहरुको यस्तो हल्का प्रस्तुति थियो कि मानौँ हामी सधैँ भेट भइरहने निकटका साथी हौँ । हामी बसेको भन्दा ठिक अपोजिट सोफामा उनीहरु बसे । विना संकोच उनीहरुले सबैलाई मामा सम्बोधन गरे र छिटो न भन्दै हतारिइरहेका थिए । इन्द्र हतारहतार केही खुसुक्क भनुँला झैँ गरेर जुरुक्क उठे र एउटीको कान फुके अनि हामीलाई भने, ‘साथी हो ल माल छान्नुहोस् हैँ…।’
मलाई बल्ल झस्का खुल्यो- यसले माल भनेको त यो पो रहेछ ?
समय वित्न नपाउँदै इन्द्रले जुरुक्क उठेर चारमध्ये बीचकी एउटीको हात च्याप्प समाते । उनी जरुक्क उठिन् र मुसुक्क हाँसिन् । बनावटी हाँसोजस्तै गरेर उनीहरु एक अर्काको अँगालोमा बेरिएर पर्दा पछाडि पसे । हामी तीनमध्येका एक पनि इन्द्रकै सिको गरेझैँ गरेर अर्को कोठाको पर्दाभित्र हराए, अब हाम्रो नम्बर आइसकेको थियो ।
धेरै समय शून्यतामा रयो । म मनमनै सोचिरहेको थिएँ- यिनीहरु कसरी यो पेसामा लागे होलान् ? यिनीहरुसँग आन्तरिक कुरा खोतल्न सके न्यूज हुन्थ्यो कि ? या हामीलाई यिनीहरुले नामर्द भन्दा हुन्… या … यस्तै खुल्दुली भइरह्यो ।
शून्यतालाई तोड्दै दुवैले एकै स्वरमा सोधे– ‘सर, तपाईंहरु……?’ साथी बोल्न नपाउँदै म अघि सरेर भनें, ‘हामी ऊ त्यो खुल्ला चौरीको कुर्सीमा जाऊ न है ।’
उनीहरुले मुखामुख गरेर हेरिरहे । उनीहरुलाई लाग्दै थियो होला, हामीबाट उनीहरुको रोजीरोटी नचल्ने भो । मेरो स्थान छनौटमा उनीहरुको असहजतालाई चिर्दै भए पनि चौरीतर्फ लाग्यौं । चौरीमा सजाइएका टेबल कुर्सीमा हाम्रो बसाइ आम्ने-साम्नेको भयो । बसाइको क्रमले चौरीमा पनि हाम्रो बसाइ जोडीजोडी नै भयो ।
अर्को जोडीले के गफ गर्यो, मैले चासो राखिनँ । तर मेरो भागमा परेकी उनलाई मैले सरल रुपमा प्रश्न राख्दै गएँ, उनी छिट्टै भावुक बनिन् र आँसु झारेर भक्कानिँदै मेरा प्रश्नको जवाफ दिइरहिन् ।
केही समयपछि उनले आफ्नो जीवन जिउने बाध्यात्मक कलाको कथा यसरी सुनाइन्, ‘मेरो बुबा आजभन्दा आठ वर्षअघि द्वन्द्वको बेला बेपत्ता हुनुभयो, बुबा बेपत्ता भएपछि घरमा आमा, म र सानी बहिनी मात्र भयौं, हाम्रो परिवार गरिब थियो, गरिबीका कारण समाजले पनि हामीलाई हेँला गर्थ्यो, सानी बहिनीलाई माइजूले पढाइदिन्छु भनेर मावली लानुभयो, त्यो बेला पटक–पटक हाम्रो घर घेरिन्थ्यो, नकाबधारीहरुले बुबाको बयान सोध्थे, थाहा छैन भन्दा म र आमालाई कुट्थे र पालैपालो बलात्कार गर्थे, आमाको आँखा अगाडि म चिथोरिँदा र मेरै अगाडि आमा लुछिँदा पनि निरीह बनेको त्यो समाजले हाम्रो पीडामा चूँ बोल्न सकेन ।
यावत् क्रममा समय बित्तै गयो । दुई वर्षपछि मेरी आमालाई पाठेघरमा घाउ भएको थाहा भयो, उपचार गर्न जाँदा धेरै पैसा लाग्ने भएपछि थप समस्या भयो । मैले आफन्त र नातागोता सबै गुहारेँ तर कसैले सहयोग गर्न चाहेनन्, म आमालाई मर्न दिने पक्षमा पनि थिइनँ । म पैसाको खोजीमा भौतारिइरहेकी थिएँ । मेरो ठूलोबुबाले हामीसँग भएको घरखेत बन्दकी राख्ने भए उपचारमा खर्च सगाउने आश्वासन दिनुभयो, हामीले स्वीकार्यौ । तर कागजी काम सकेर पुर्जा हात पारेपछि ठूलोबुवाले पैसा दिन आलटाल गर्दै जानुभयो, समय सार्दै जानुभयो र अन्त्यमा मैले पैसा दिन छैन, कागज बोल्छ भनेपछि हामीलाई षड्यन्त्रपूर्ण ढंगबाट फसाइएको रहछ । ठूलोबुवाले जे गर्छौ गर भन्दै हामीलाई घरबाट निकाल्नु भयो ।
बुबाको अभावमा हामीले धेरै हण्डर बेहोर्नुपरेको थियो । आमाको उपचार गर्नू मेरो दायित्व पनि थियो । म कामको खोजीमा भौतारिएकी थिएँ, त्यही बेला छिमेकी काकाले मलाई शहरमा काम पाइन्छ भनेर काठमाडौं लानुभयो । मलाई एउटा होटलमा काम भनिदिएर काका घर फर्किनुभयो । म त्यही होटलमा भाँडा धुने काम गर्थेँ र आमालाई खर्च पठाउँथेँ । पछि म त्यही होटल मालिकबाटै लुटिएँ । अनि दिनदिनै होटल साहूले ग्राहकको सन्तुष्टिका लागि प्रयोग गरे । एक रातमा नौ-दश जनासँग सुत्नुपर्थ्र्यो । त्यहाँबाट उम्कन मैले पटक–पटक प्रयास गरेँ । तर पालेले समातिहाल्थो । तीन महिनापछि साहू बाहिर गएको मौका छोपेर म भाग्न सफल भएँ । मैले होटलमा भएको ज्यादतीबारे मानवअधिकारवादी र एक महिला प्रहरीलाई पनि सुनाएँ । उनले ठीकै छ, म बुझौँला भनेकी थिइन् तर प्रहरीले होटलबाट कमिसन लिँदो रहेछ र उनीहरु पनि ग्राहकको रुपमा आउन पाउँदा रहेछन् ।
म आमालाई भेट्न भनेर काठमाडौंबाट हिँडेँ । त्यही दिन बिहान आमाको देहावसान भइसकेको रहेछ । अ त म बुवाआमा बेगरकी टुहुरी भएँ । आमाको अन्त्येष्टि सकेर महिला सञ्जालमार्फत न्याय खोज्न पुनः काठमाडौं आउदै थिएँ । म चढेको गाडी बाटामा पंचर भयो । गाडी बनाउन झण्डै तीन घण्टा समय लागेका कारण म काठमाडौं ओर्लिंदा साँझ परिसकेको थियो । बसपार्कवाट कहाँ जाने भनेर म सोचिरहेकी थिएँ । एक जना दिदीले मलाई बोलाइन्, मैले आफ्नो कामवारे बताएँ । उनले आज राती भयो, यतै बसौं भोलि सबेरै जानु भनेपछि म उनीसँगै गएँ । बिहान उनले मलाई सहयोग गर्ने आश्वासन दिइन् र सँगै बानेश्वरसम्म गयौं, तर उनले मलाई एउटा होटलमा लगिन् र मलाई आँखा छलेर होटल मालिकसँग खासखुस कुरा गरिन् । मैले उनले मलाई फसाउन षड्यन्त्र गरेको कुरा सहज बुझिहालें ।
म त्यहाँबाट एउटा बहाना बनाएर बाहिर निस्कें र पुलिसको सहायता लिएर महिला सञ्जालको अफिसमा गएँ, मेरो कामबारे सबै बताएँ । तर त्यहाँ पनि एक हप्तापछि आउने आश्वासन मात्र पाएँ । मेरो सहारा कोही थिएन । खल्ती पनि रित्तो भइसकेको थियो । अ के गर्ने होला ? सडक पेटीमा उभिएर म सोचिरहेकी थिएँ । दुई भाइ जवान केटाले मलाई फलो गरिरहेका रहेछन्, उनीहरु मेरो छेउमा आए र कहाँ जान लागेको बैनी भनेर सोधे ।
मैले कामको खोजीमा छु, भनेपछि उनीहरुले एउटा अफिसमा काम लगाइदिने बताए । केही समयपछि एउटाले बदाम किन्यो । अर्कोले चिसो किनेर ल्यायो र मलाई पनि बदाम दिए, म भोकाएकी थिएँ, बदाम खायौं । चिसो खान भने तर मैले नखाने भनेपछि मलाई अलिपरको दोकानबाट फ्रुटी किनेर ल्याइदिए । फ्रुटी खाएपछि मलाई रिँगटा लागेजस्तो भयो । त्यसमा लट्याउने औषधी मिसाएको रहेछ, म बेहोस भएछु । म होसमा आउँदा एयरपोर्टको पछाडिको चौरीमा थिएँ । मलाई उनीहरुले बलात्कार गरेर भागेछन् । म पागलजस्तै भएँ, मेरो दिमागले के गर्ने र के नगर्ने छुट्याउनै छाडिसकेको थियो । त्यसपछि मलाई धेरैले प्रयोग गर्दै गए । जताततै हिँड्न थालें ।
मसँग पौडेर तृप्ति लिनेको संख्या एकिन छैन । अहिले मेरो व्यवसाय नै अर्कालाई सन्तुष्टि दिनु भएको छ । म कहिले पोखरा बसेँ त कहिले विराटनगर, इटहरी र विर्तामोड । मसँग कन्ट्याकमा आउने, पछारिने, मलाई चुस्ने र सन्तुष्टि लिने धेरै छन् । कति दोहोरिन्छन् त कति तेहेरिन्छन् । कतिपय चिनेका आउँछन् त कति अपरिचित । तर मलाई सबैले फ्रेस माल भन्छन्, त्यो किन हो उनीहरु नै जानुन् । तर अहिलेसम्म मलाई कसैले यसरी सोधेको थिएन ।
आज मलाई तपाईंले यसरी सोध्दा मेरो बाबाको याद आइरहेछ, सायद म बाबाको साथ भएको भए मेरो यो कर्म हुने थिएन होला । मेरो बाबा पनि मलाई सानामा माया गरेर स्कुलबाट फर्केपछि दैनिकी सबै सोध्नुहुन्थ्यो । म खुलेर बाबासँग यसरी नै कुरा गर्थे …।
उनी डाँको छाडेर रुन थालिन्, भक्कानिएर मेरो छात्तीमा टाउको राखेर रुँदै भनिन्- प्लिज म तपाईंलाई बाबा भन्छु है… ।
(कथा सत्य घटनामा आधारित भए पनि कथाका पात्रको नाम काल्पनिक भएकाले कसैसँग मिल्न गए संयोग मात्र हुनेछ ।)