Logo

प्रचण्डलाई तारो बनाउँदै किन उठ्यो क्यान्टनमेन्टको १९ अर्ब प्रकरण ?



काठमाडौं, २९ फागुन । लडाकु व्यवस्थानका लागि खर्च भएको १९ अर्ब प्रकरण फेरि चर्चामा आएको छ । तत्कालिन माओवादी लडाकुको व्यवस्थानका लागि शिविरमा राख्दा उक्त रकम सरकारका तर्फबाट खर्च भएको थियो । माओवादी नेतृत्वले उक्त रकम अनियमितता गरेको आरोपको विषय जोडतोडले उठ्न थालेको छ ।

क्यान्टोन्मेन्टको १९ अर्बको विषय उठाउने अरु कोही नभएर प्रचण्डसँग लामोसमय काम गरेका पूर्व माओवादी नेताहरु नै छन् । यो विषय यस्तो बेलामा उठेको छ जुन बेला प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शक्तिसंघर्षमा छन् ।

ओली पक्षीय एमालेमा पुगेका टोपबहादुर रायमाझीले क्यान्टोन्मेन्टको १९ अर्बको प्रश्न गरेका छन् । उनले आज रिपोर्टर्स क्लब नेपालमा बोल्दै क्यानटोन्मेन्टको १९ अर्ब अनियमितताको विषयमा अध्ययन गरिरहेको बताए । उनले यो विषयमा व्यापक खोजीनीति हुनुपर्ने बताए ।

पूर्वमाओवादी नेता तथा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि क्यान्टोन्मेन्टको १९ अर्बबारे प्रश्न उठाए । काठमाडौं आएर ओलीसँग एउटै मञ्चमा उभिएर शान्ति सम्झौतामा सहभागी भएका विप्लवले कपिलवस्तु पुगेर २४ फागुनमा यसबारे प्रश्न उठाएका थिए । उनले भनेका थिए,‘१९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ , जनमुक्ति सेनाको १९ अर्ब कस्ले खायो ?’

विप्लवले माओवादीमा रहँदा त्यसविरुद्ध आवाज उठाएको सुनाए । त्यसविरुद्ध लडेर उठेको बताए ।

तत्कालिन माओवादीले क्यानटोेन्मेन्टमा रहेको २० हजार लडाकुलाई आएको रकममा प्रति लडाकु ५ हजारका दरले रकम काटिएको थियो । त्यो रकमबारे प्रश्न उठ्दै आएको छ । विप्लवले प्रचण्डको नामै लिएर यसबारे प्रश्न उठाएका छन् ।

विप्लवले र टोपबहादुर रायमाझीले त्यो रकमबारे प्रश्न उठाउनु अर्थपूर्ण छ । रायमाझी प्रचण्डको साथ छाडेर ओली समूहमा गएका छन् ।



प्रतिक्रिया दिनुहोस्