Logo

भारतमा २५ हजारभन्दा बढी सङ्क्रमित, १६ हजार सङ्क्रमणमुक्त



१ चैत : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३२० जना सङ्क्रमित भएका हुन् ।यसअघि एक दिनमा सङ्क्रमितहरुको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ ।भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन् ।कुल सङ्क्रमित मध्ये दुई लाख १० हजार ५२२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड नौ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म एक लाख ५८ हजार ६०७ जनाको मृत्यु भएको छ । ती मध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४०९ खोपको उपभोग भएको छ ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख तीन हजार ६४१ जनाको कोरोना परीक्षण गरिएको छ । शुक्रबार भने आठ लाख ६४ हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको छ ।-एएनआई/File Photo



प्रतिक्रिया दिनुहोस्