काठमाडौं, १ चैत्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुको विकल्प नभएको बताएका छन् । म्याग्दीको बेनीमा बोल्दै उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर काँग्रेसले ठूलो अवसर गुमाउन लागेको समेत बताए ।
नेकपाभित्र विवाद भइरहेको अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर काँग्रेसले ठूलो अवसर गुमाएको तर्क गरे । उनले भने,‘यो सरकारलाई हटाउनैपर्छ ।’ ओलीलाई अझै पनि सत्तामा बस्ने वातावरण बनाएर लोकतन्त्रमाथि संकट बढाउन खोजेको बताए । ओलीइतरको सरकार बनाउनुपर्नेमा पौडेलको जोड थियो ।
ओलीमाथि संविधानको हत्या गर्न खोजेको आरोप लगाउँदै अब काँग्रेसले उनलाई हटाउन नेतृत्व लिनुपर्ने बताए । अविश्वासको प्रस्तावमा कुनैपनि हालतमा साथ दिनुपर्नेमा उनको जोड थियो ।
पौडेलले ओली नेतृत्वको सरकारबाट चुनाव सम्भव नभएको समेत बताए । ‘ओलीको नेतृत्वको सरकारबाट निर्वाचन सम्भव छैन,’ म्याग्दीको बेनीमा बोल्दै पौडेलले भने,‘ओलीले चुनाव गरेमा ठूलो दुर्घटना हुन्छ ।’