काठमाडौं, २ चैत्र । सरकार निर्माणमा निर्णायक शक्ति बनेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने सम्भावना बढेको छ । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई ओलीलाई समर्थन गर्न नसकिनेमा स्पष्ट छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि ओलीप्रति सकारात्मक छैनन् ।
ठाकुर र महतोले पनि ओलीलाई प्रधानमन्त्री कायमै राख्न समर्थन गर्नेमा उदारता देखाएका छैनन् । तर, सरकारको नेतृत्व पाउने अवस्थामा भने खुल्ला बन्नुपर्ने उनीहरुको तर्क रहने गरेको बुझिएको छ ।
जसपाले अब सरकारको नेतृत्व गर्नुपर्नेमा जसपा नेताहरु एकमत देखिएपनि कुन समिकरणमा जाने भन्नेबारे केही मतभेद छ । ठाकुर पक्ष ओलीले समर्थन गरेर सरकारको नेतृत्व पाउने अवस्था बनाएमा अगाडि बढ्नुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओलीले ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।
जसपालाई काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । जसपाले भने आफै दाबी प्रस्तुत गरेको छ । नेता डा. भट्टराईले जसपाले अब नेतृत्व लिने बताइसकेका छन् । तर, काँग्रेस सभापति शेरबहादुर देउवाले पनि नेतृत्वको दाबी गरेका छन् । काँग्रेस लचिलो बनेमा मात्र जसपाले सरकारको नेतृत्व पाउने सम्भावना छ ।
जसपाले जस्ले सरकारको नेतृत्वका लागि सहयोग गर्छ उतै लाग्ने सम्भावना छ । यसपटक उसले अरुलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सम्भावना भने कमजोर छ । जसपा फुटेमा भने कुनै एक पक्षको नेतृत्वको सरकारमा जाने सम्भावना छ ।