मोरङ, २ चैत्र । चोरी निकासी गरी लैजान लागेका बिभिन्न मदिरा सहित एकजना पक्राउ परेका छन् । जहदा गाउँपालिका–१ लंकाटोलबाट नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजान लागेका बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित भारत मटियारी ग्राम पंचायत बस्ने ३२ वर्षीय शिव लाल रायलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
सोही गाउँपालिका लंकाटोल बस्ने रमेश यादवको घरमा स्टोर गरी राखेका विभिन्न ब्राण्डका मदिरा शिव लालले नेपालबाट भारततर्फ लैजान गाडीहरुमा लोड गरी राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।
उक्त स्थानबाट ३ सय मिलिग्रामको उंमग मदिरा ५७ काटुन, ३ सय मिलिग्रामको पलपल ४० काटुन, ३ सय मिलिग्रामको सोफीका ३७ काटुन, ३ सय मिलिग्रामको हरपल १ सय ५२ काटुन, ३ सय मिलिग्रामको खुल्ला १ हजार ९ सय ९५ बोतल मदिरा तथा डब्लुबी २० जेड १०८७ नम्बर प्लेटको भारतीय कार र ४ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।