Logo

चन्दा रकम उठाई ठगी गर्दै हिँडेका ५ जना पक्राउ



कास्की, २ फागुन । अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने मकवानपुर बकैया गाँउपालिका–१ आहालडाँडा घर भएका छिरिङ भन्ने ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेका छन् ।

उक्त स्थानमा लामा पोसाकमा टाशी छोग्याल गुम्बा गजुरा नगरपालिका–२ कटानी रौतहटको रसिद लिई अबैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चन्दा बापत उठाएको रकम ४२ हजार ४ सय ९१ रुपैयाँ, रसिद ठेली, बिभिन्न फाईल तथा रजिष्टरहरु र फोटो समेत प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्