वीरगञ्ज, चैत ४ । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार ४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेन । पटकपटक थपिएको समयसीमा सकिए पनि आयोजनाको म्याद बढाएर आगामी वर्षको साउनसम्म पुर्याइएको छ ।
कोरोना महामारीलाई कारण देखाएर सबै आयोजनाले थप ६ महीना म्याद पाएका छन् । महामारीले विकास निर्माण प्रभावित भएको भन्दै सरकारले म्याद थप्ने निर्णय गरेपछि व्यापरिक मार्गको काम आउँदो आर्थिक वर्ष २०७८र७९ को साउनसम्म कायम भएको छ ।
वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) को सम्पर्क सडकदेखि पथलैयासम्मको २८ किलोमीटर सडक ६ खण्डमा बाँडेर चारओटा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । २०७३ असारमा कार्यादेश पाएका ठेकेदारले अहिलेसम्म काम पूरा गरेका छैनन् ।
दुई वर्षभित्र व्यापारिक मार्ग पूरा गर्ने लक्ष्य राखिकोमा त्यति नै समय थप्दा पनि काम नसकिएपछि गत पुससम्मका लागि पुनः म्याद थपिएको थियो । पछिल्लोपटक कोरोना महामारी म्याद थपको बहाना बने पनि यसअघि विभिन्न कारण देखाएर समय बढाइएको थियो ।
आउँदो असारदेखि साउनसम्ममा योजना पूरा हुने गरी म्याद थपिएको योजना प्रमुख मनीषकुमार साहले जानकारी दिए । अहिलेसम्म आयोजनाको समग्र प्रगति ७५ प्रतिशत पुगेको प्रमुख साहले बताए ।
‘कोरोना महामारीका कारण काम अवरुद्ध भएकाले सबै आयोजनालाई ६ महीना समय थप्ने निर्णयअनुसार आगामी वर्षको साउनसम्म पुर्याइएको छ । यो समयभित्र विस्तारको अधिकांश काम सकिन्छ,’ प्रमुख साहले आर्थिक अभियानसँग भने ।
थपिएको पछिल्लो समयभित्र सडकको रङरोगन र सौन्दर्यीकरणबाहेका मुख्य निर्माण सकिने योजना प्रमुख साहको दाबी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा म्याद थप्ने निर्णय पर्खिएको १९ नम्बर ठेक्काबाहेक अन्यको थप म्याद स्वीकृत भइसकेको आयोजनाले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।