काठमाडौँ ५ चैत। नेपाल डेमोक्रेट युनियनद्वारा ६२औं टिबेटन अपराइजिङ डे (मार्च १०) का अवसरमा संयुक्त राष्ट्र संघ समक्ष मेमोरेण्डम प्रस्तुत गरेको छ ।
कम्युनिस्ट चीनको तिब्बतमाथिको अतिक्रमणविरुद्ध, स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा तिब्बती जनताले ६२ वर्षदेखि गरिरहेको संघर्षलाई अभिवादन गर्दै नेपालका प्रजातान्त्रिक पार्टीहरुको अलायन्स ‘नेपाल डेमोक्रेट युनियन’ ६२ औं टिबेटन अपराइजिङ डे (मार्च १०) का अवसरमा समस्त तिब्बती जनताप्रति शुभकामना व्यक्त गरेको छ । तिब्बत स्वतंत्रता आन्दोलन कम्युनिस्ट चीनको पञ्जाबाट मुक्त हुन चाहने तिब्बती जनताको आन्दोलन मात्र नभएर न्याय, स्वतन्त्रता, मानव अधिकार र प्रजातांत्रिक समस्त विश्वसमुदायको आन्दोलनकै एक अंग हो ।
नेपाल डेमोक्रेट युनियन विश्वभरका प्रजातन्त्रप्रेमी जनता र सरकारका साथै नेपाली जनताको तर्फबाट तिब्बत स्वतंत्रता आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ । साथै तिब्बतमाथिको अतिक्रमण तत्काल फिर्ता लिई तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको सम्मान गर्न कम्युनिस्ट चीनलाई जोडदार अपील गरेको छ । अन्यथा विश्व समुदायबाट बहिस्कृत हुने र आफ्नो पतनको दिनगन्ती शुरु गर्नुपर्ने दिन कम्युनिस्ट चीनले चाँडै देख्नुपर्ने चेतावनी दिएका छन् । तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको अदम्य साहशको लागि विश्वभर छरिएर पनि तिब्बत प्रजातान्त्रिक आन्दोलनमा एक ढिक्का भएर लागेका समस्त तिब्बती जनतालाई अभिवादन गर्दै नेपाल डेमोक्रेट युृनियन आफूलाई प्रजातान्त्रिक मान्ने सबै नेपाली पार्टी र नेताहरुलाई तिब्बती स्वतन्त्रता आन्दोलनका पक्षमा सहयोग तथा समर्थन गर्न समेत आग्रह गरेको छ ।
यसै क्रममा, विश्वमा शान्ति, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको संरक्षण–संवर्धनको जिम्मेवारी बोकेको संयुक्त राष्ट्र संघले तिब्बती जनताको स्वतन्त्रता, मानव अधिकार र प्रजातन्त्रको प्रत्याभूतिका निम्ति आवश्यक कदम चालोस् र तिब्बतलाई कम्युनिस्ट चीनको सर्वसत्तावादी कब्जाबाट मुक्ति दिलाउने वातावरण तयार गरोस् भन्ने विशेष आग्रहका साथ नेपाल डेमोक्रेट युनियन यो स्मरणपत्र (मेमोरेण्डम) प्रस्तुत गरेको छ ।-File Photo