Logo

प्रधानको एमाले प्रवेश कार्यक्रममा गोल्छा, मित्तल, श्रेष्ठलगायत नाम चलेका उद्दोगीव्यवसायी बालुवाटार पुगेपछि…



काठमाडौं, ६ चैत्र । आज बालुवाटारमा रोचक दृश्य देखियो । नेपालका नाम चलेका उद्दोगीव्यवसायी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरे । त्यहाँ नेपाल उद्दोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानसहित उद्दोगीव्यवसायीको नेकपा एमालेमा प्रवेश कार्यक्रम थियो ।

उक्त कार्यक्रममा नेपाल उद्दोग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्षहरु प्रदीप श्रेष्ठ, रविभक्त श्रेष्ठ, उद्दोग परिसंघका हरिभक्त शर्मा समेत पुगेका थिए । उनीहरु स्वयं पार्टी प्रवेश गरेनन् । तर, आफूनिकटका उद्दोगीव्यवसायी एमाले प्रवेश गरेको कार्यक्रममा सहभागी हुन पुगे ।

शेखर गोल्छाका भतिजा हितेश गोल्छा एमाले प्रवेश गरे । त्यसैगरी मदन मित्तल, पवन मित्तल, सीताराम अग्रवाललगायत पनि पार्टी प्रवेश गरे ।

पूर्वमन्त्री मोती दुगडले पार्टी प्रवेश कार्यक्रमको संयोजन गरेका थिए । उनी प्रधानमन्त्री ओलीका आर्थिक मामला सल्लाहकार पनि हुन् । दुगडले उद्दोगी व्यवसायी सबै एमाले बन्नुपर्ने बताए । प्रधानमन्त्री ओलीसँग समृद्ध नेपालको मिसन र भिजन भएकाले साथ दिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्