Logo

लघुवित्त संघद्धारा पत्रकार भण्डारी सम्मानीत



काठमाडौं, चैत ७ । लघुवित्त संघ नेपालले पत्रकारिताको माध्यमबाट लघुवित्त क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार जीवन भण्डारीलाई सम्मान गरेको छ । झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार भण्डारीले लघुवित्तका बारेमा कलम चलाउँदै आएकाले सम्मान गरिएको संघले जनाएको छ ।

नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक तथा राष्ट्रिय समाचार समितिका उपसम्पादक भण्डारीलाई संघको स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौमा अर्थसचिव शिशिर ढुंगानाले सम्मान गरेक हुन् ।

बार्षिकोत्सव समारोहमा भण्डारीसँगै लघुवित्त क्षेत्रका अरु ६ जनालाई पनि सम्मान गरिएको छ । लघुवित्त वित्तिय संस्थाको उत्कृष्ट व्यवस्थापन गरेको भन्दै निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेललाई उत्कृष्ट सिइओ सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी लघुवित्त क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट योगदान गरेकाले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भरतसिंह थापालाई पनि सम्मान गरिएको छ ।

संघले लघुवित्त वित्तिय संस्थामा सेवाग्राहीको रुपमा आवद्ध भइ आफ्नो आर्थिक तथा सामाजिक उत्थानमा लागेका तीन महिलाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ ।संघको प्रथम साधारण सभा पनि शुक्रबर नै सम्पन्न भएको छ । समपन्न सभाले संघका संस्थापक अध्यक्ष जगत पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

सभाले उपाध्यक्षमा भगवती चौधरी र माणिकरत्न शाक्य, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्त कुमार श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसीलाई नै निर्वाचित गरेको छ । यस्तै सदस्यमा बिमला उपाध्याय घिमिरे र किरण चौधरी निर्वाचित भएका छन् ।
सभाले स्थापनाका बेला ९ सदस्यीय रहेको समिति विस्तार गरी ११ सदस्यीय बनाउने र बाँकी तीन जना पछि मनोनित गर्ने निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्