काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकतालाई अक्षुण राख्नुपर्नेमा गम्भीर रहेको स्पष्ट पारेका छन् । र, यसको लागि प्रधानमन्त्री हदैसम्म लचिलो भएको उनको भनाई छ । तर, अनुचित तरिका कसैले अपनाए प्रधानमन्त्री ओली कठोर बन्ने पनि उनको दाबी छ ।
हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गत फागुन २८ गतेको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने स्पष्ट पारे । पार्टीभित्र प्रधानमन्त्री ओली हरेक कमिटीमा बहुमतमा रहेको पनि भट्टराईको दाबी छ । यसअघिको संसदीय दलको बैठकमा नआएका सांसदहरुलाई तत्काल कारबाही नगर्ने पनि उनले जिकिर गरे । तर, पार्टीका हरेक मोर्चामा र आन्तरिक जीवनमा गम्भीर असर पार्ने गतिविधि भए पार्टीले ह्विप जारी गर्ने पनि उनले सुनाए ।