– शङ्खर पहाडी सर्लाही, ९ चैत : सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध भारतीय बजारमा पु¥याउने गरेका पाइएको छ ।
तस्करले जिल्लाका सबैजसो बजारमा अवैध रुपमा भन्सार छलेर ल्याएका सामान पु¥याउन थालेपछि नेपाली व्यापारी मर्कामा परेका जिल्ला सदरमुकाम मलङ्गवाका व्यापारी राजकरण यादवले गुनासो गर्नुभयो । “त्यस्ता सामान सस्तो मूल्यमा पाइन थालेपछि हामीजस्ता वैध ढङ्गले व्यापार गर्ने ब्यापारीको व्यवसाय नै धरापमा परेको छ ।” नेपाल–भारत सीमा क्षेत्रमा सदरमुकाम मलङ्गवासहित पूर्वमा त्रिभुवन नगर–सोन वर्षा, पर्सा–सहोडवा, नारायणपुर दरवार लालबन्दी, संग्रामपुर नाका र पश्चिममा भेडियाही–लडकवा, खुटौना–भलुवाहा, भाँडसर–कन्हौली, बहादुरपुर, पकडीफेन्हारासहित बलरा नाका खुल्ला सिमाना भएका नाका हुन् । यी नाकाबाट तस्करले अवैध रूपमा भन्सार छलेर सामान ओसारपसार गर्ने गरेका छन् । चोरी तस्करीका कारण राजश्व सङ्कलनमा प्रभाव परेको भन्सार कार्यालय मलंगवाले जनाएको छ ।
चोरी तस्करीका कारण व्यापार, व्यवसाय सुस्त भएकाले जिल्लाको व्यापार, व्यवसाय सहज बनाउन र सीमाको सुरक्षा व्यवस्था चुस्त बनाएर चोरी तस्करी नियन्त्रण गर्न आफुहरु प्रमुख जिल्ला अधिकारी समक्ष डेलिगेसन जाने तयारीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार ज्योशीले बताउनु भयो ।
जिल्ला सदरमुकाम मलंगवा लगायत लालबन्दी, बरहथवा, बयलबास, गोडैता, कौडेना, पकडीफेन्हारा, संग्रामपुर, हरिपुर, हरिवन, नवलपुरलगायत बजारमा भारतबाट भन्सार छलेर आएका सामानका कारण भन्सार बुझाइएका सामान लुप्त रहेको व्यापारीले बताएका छन् ।
भारतीय बजारमा मदिरा कारोवार गर्न नपाइने भएका कारण सीमावर्ती क्षेत्रका बजारमा यसको कारोवार बढ्दै गएको सीमा क्षेत्रका स्थानीयले बताएका छन् । भारतको बिहार राज्यमा मदिराको कारोवारमा पूूर्ण रुपमा प्रतिबन्ध लगाएपछि जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध मदिराको कारोवार बढेको उद्योग वाणिज्य सङ्घ सर्लाहीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षामा कडाइ गरेपनि ससाना छाप्रो बनाएर अवैध रुपमा मदिराको कारोवार हुने गरेको छ । सीमा क्षेत्रमा अधिकांश मदिरा पसल भारतीय नागरिकद्वारा सञ्चालित छन् भने विना दर्ता सञ्चालनमा रहेका मदिरा पसलको नियमन पनि हुन सकेको छैन ।
स्थानीय प्रहरीले मदिराको कारोवार रोक्न सीमा क्षेत्रका पसल सञ्चालकलाई पटक पटक आग्रह गरेपनि प्रहरीको आग्रहको बेवास्ता गरी सीमा क्षेत्रका व्यापारीले मदिराको कारोवार गर्दै आएका छन् । कतिपय ठाउँमा मदिरा बनाउने भट्टीमा छापा मारेर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने सामान र कच्चापदार्थ जफत तथा नष्ट गरिसकेको भए पनि पुनःसञ्चालन भइरहेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।
नेपाल–भारत सिमा नाका अहिले बन्द रहेको छ । सीमा क्षेत्रका स्थानीयवासीले अवैध रुपमा हुँँदै आएको मदिराको कारोवार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा चुस्त दुरुस्त पार्न सर्लाहीका प्रमुख जिल्ला अधिकारीसँग पटकपटक आग्रह गरेका छन् ।-रासस/File photo