Logo

देउवाको दोषी चश्मा



समाचार विश्लेषण । नेपाली काँग्रेस निर्णायक अवस्थामा पुगेपनि निर्णयको बेला परिपक्व भएको छैन भनी कुरेर बसेको छ । राजनीतिक मैदानमा गोल गर्ने मौका चुकाउँदै ऊ अरुको खेल हेर्ने दर्शकमा सिमित हुने त होइन ? प्रश्न तेर्सिएको छ ।

कुनै बेला काँग्रेस वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला जस्ता नेताहरुको निर्णय क्षमताले अगाडि बढ्न सकेको थियो । यी नेताहरुले जोखिम मोल्दै पार्टीलाई अगाडि मात्र बढाएनन् देशको राजनीतिक कोर्सलाई समेत बदल्न भूमिका खेलेका थिए । राजनीतिको केन्द्रबिन्दुमा जहिले पनि काँग्रेस नै रहने अवस्था विगतका नेताहरुले बनाएका थिए ।

वीपीले राणा शासन अन्त गर्न निर्णायक भूमिकामा काँग्रेसलाई उभ्याएका थिए । २०१७ सालको कू पछि पनि उनी निरन्तर प्रजातन्त्रका लागि संघर्ष गरिरहे । वीपी बरु सत्ताबाट विमुख भए तर झुकेनन् ।

गणेशमान सिंहको साहसले २०४६ सालको जनआन्दोलन सफल भयो । उनी आन्दोलनका सर्वोच्च कमाण्डर बने । प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई बनाउन भूमिका खेले । भट्टराईको निर्णय क्षमताले २०४७ सालको संविधान जारी भयो ।

२०४८ सालको चुनावपछि सत्ताको केन्द्रमा गिरिजाप्रसाद कोइराला भए । अनेकन कमी कमजोरीका बाबजुद उनी निर्णय क्षमता देखाइरहन सफल भए । कोइरालाको निर्णायक भूमिकाले राजाको प्रत्यक्ष शासन अन्त गर्ने २०६२/६३ को जनआन्दोलन सफल भयो । जनआन्दोलनलगत्तै माओवादी हिंसात्मक गतिविधि शान्ति सम्झौतापछि अन्त भयो । माओवादी राजनीतिक मूलधारमा आयो । यो नेपालको इतिहासको महत्वपूर्ण कदम थियो ।

त्यसपछि सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान जारी भयो । २०७२ सालमा संविधान जारी हुँदा चौतर्फी दबाबहरु थिए । त्यसलाई थेगेर कोइरालाले ऐतिहासिक कार्यभार पूरा गर्न सके ।

सुशील कोइरालापछि काँग्रेस सभापति शेरबहादुर देउवा बने । उनको नेतृत्वकालमा काँग्रेस कमजोर अवस्थामा पुग्यो । संसदीय चुनावमा कमजोर हालतमा पुग्यो । स्थानीय निकायको चुनावमा पनि काँग्रेस कमजोर भयो । चुनावी विषय प्राविधिक हुन् । तर, देउवाले देशको राजनीतिलाई नेतृत्व गर्ने काँग्रेसको भूमिकालाई पिछेलग्गु जस्तो बनाए ।

कुनैबेला यस्तो थियो कि काँग्रेसले सरकारको नेतृत्व नलिँदा पनि मुख्य भूमिकामा रहन्थ्यो । माधवकुमार नेपालले समेत गिरिजाप्रसाद कोइरालाले जोड गरेर प्रधानमन्त्री बनाएको खुलासा गरेका छन् । यस्तो हैसियतको काँग्रेस कहिले प्रचण्ड त कहिले केपी शर्मा ओलीको रणनीति पर्खिदै यता र उता हुनथाल्यो ।

स्थानीय निकायको चुनावमा काँग्रेस सभापति देउवा रेनु दाहालको चुनाव प्रचारमा गएको विषय इतिहासमा गम्भीरतापूर्वक विश्लेषण गरिने वषय बनेको छ । देउवाले प्रचण्डलाई हेर्ने चश्मा नै दोषी देखियो । प्रचण्डले रणनीतिक चार्तुयता देखाएर कम्युनिस्ट एकताको प्रस्ताव लिएर ओलीसँग मिल्न पुगे । कम्युनिस्टहरु मिलेर चुनाव लडे । भारी बहुमत ल्याउन सके । देउवा कमजोर प्रतिपक्षी दलका नेता बन्न पुगे ।

बितेको तीन वर्षमा देउवाको भूमिका प्रमुख प्रतिपक्षी दलको नेता जस्तो पनि भएन । उनी सत्ता साझेदार कमजोर दलका नेता जस्ता भए । सरकारका कतिपय गलत क्रियाकलापका किनाराका साक्षी मात्र भए । कतिपय नियुक्तिमा भागवण्डा गरेर मौन बसे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदम चाले । त्यसमा पनि देउवा सहयोगी जसरी प्रस्तुत भए । प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि ओली सत्तामा रहे । उनीविरुद्ध सत्ता समिकरणको प्रयासहरु भयो । तर, देउवा मौन बस्न थाले । निर्णायक भूमिकामा आएर पनि परिस्थिति परिपक्व नभएको भन्दै उनका निकटस्थहरु बोलिरहेका छन् । राजनीतिक खेलको मैदानमा भएर पनि देउवा दर्शक जसरी उभिए जस्तै भएका छन् ।

ओली र प्रचण्ड जस्ता चतुर राजनीतिक खेलाडीहरु खेलिरहेका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम पनि खेलिरहेका छन् । महन्थ ठाकुर देखि डा. बाबुराम भट्टराईको राजनीतिक खेल पनि चरिहेको छ । तर, काँग्रेस सभापति देउवाले निर्णायक बन्न हिच्किचाहट देखाइरहेका छन् । उनको चश्माले आफ्नै दलका इतर समूहलाई दोषी देख्न थालेको छ । आशंकाको नजरले हेरिरहेका छन् । महाधिवेशनको मुखमा लगेर फसाउने त होइनन् ? देउवालाई आशंका छ ।

चतुर राजनीतिक खेलाडी केपी शर्मा ओलीसँगको सामिप्यतालाई देउवाले न्यानो महशुश गरिरहेको देखिन्छ । उनी काँग्रेसभित्रकै नेताहरुप्रति सशंकित छन् । विश्वास गर्न सकिरहेको देखिदैनन् । अर्को, गैरवामपन्थी दल जनता समाजवादी पार्टीप्रति पनि विश्वस्त छैनन् । बरु अझै ओलीबाट बढी विश्वस्त छन् । यसकारण पनि आफ्नै पक्षमा पनि निर्णय लिन सकिरहेका छैनन् । काँग्रेस निर्णायक अवस्थामा पनि देशलाई अनिर्णयको बन्दी बनाउने दलको हालतमा पुर्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्