दमक, १० चैत: दमकमा कृषकले सहजरुपमा मल पाउन सकेका छैनन् । स्थानीय सरकारले मल आयात र बिक्रीमा सीमित सहकारी संस्थालाई मात्र बिक्री गर्न पाउने अनुमति दिएपछि त्यहाँका कृषकले सहजै मल पाउनबाट वञ्चित भएका हुन् । स्थानीय सरकारले कृषि मल बिक्रीमा दमकका आधा दर्जन सहकारी संस्थालाई ६ महिनाअघि बिक्री अनुमति दिएपछि मलको सहज आपूर्तिमा समस्या आएको कृषकको बुझाइ छ ।
कृषि मल तथा अन्य आवश्यक कच्चा सामग्रीहरु बेच्दै आएका कृषि भण्डारले यसअघि सरकारमार्फत उपलब्ध हुने मल बिक्री गरिआएका थिए । मापदण्ड पुगेका मल बिक्रेता भण्डारलाई समेत बिक्री अनुमति नदिँदा समस्या आएको दमक–६ स्थित श्रेखरा कृषि भण्डारका सञ्चालक पदम बुढाथोकीले बताए । मल पाउन स्थानीय सरकारले नजीकका सहकारीलाई मात्र बिक्री अनुमति दिएपछि त्यस्तो समस्या देखिएको व्यवसायीको भनाइ छ ।
दमक–६ कै बबिन कृषि भण्डारका सञ्चालक बसन्त न्यौपानेले पनि सरकारमार्फत अनुदानमा आउने मल बिक्री वितरणमा एग्रोभेटलाई बेच्न नदिँदा किसानले समस्या झेल्नुपरेको बताए । किसानलाई सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले चासो नदिँदा त्यसको प्रत्यक्ष मार किसानले भोग्नुपरेको उनको भनाइ छ । उनले भने, “किसान मल खोज्दै हामी कहाँ आउँछन्, तर त्यस्तो मल बिक्री गर्न नदिँदा दुःख पाउँदै आएका छन् ।”उनका अनुसार अनुदानमा आउने मल एग्रोभेटमा नपाउँदा यहाँका किसान मारमा परेका छन् ।
किसानका लागि गुणस्तरीय मल आयात र बिक्री वितरणको जिम्मा पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले स्थानीय तहसँग समन्वय गरी बिक्री वितरण गर्न थालेको हो । कम्पन्नीसहित साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारी अनुदानमार्फत युरिया, डिएपी, पोटासलगायत मल आयात गरिआएको छ ।
सबै प्रकारका मल सिङ्गापुर, भारत, बङ्गलादेश, कोरिया, जापानलगायत मुलुकबाट आयात भएको छ । कर्पोरेशनले पनि पछिल्लो केही वर्षदेखि मल आयात गरी बिक्री गर्दै आएको छ ।-रासस/File photo