Logo

भूमिगत जलस्रोतको संरक्षण गर्न माग



काठमाडौँ, १० चैत: मानव जीवनका लागि अत्यावश्यक पानी व्यवस्थापनका लागि भूमिगत जलस्रोतको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।

विश्व पानी दिवसका अवसरमा स्मार्ट वास सोलुसन्सले राजधानीमा सोमबार आयोजना गरेको कार्यक्रममा ‘मूल्यवान् पानी : भूमिगत पानीको महत्व’ विषयमा आयोजना गरिएको सो कार्यक्रममा नेपालमा खानेपानी क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी, सामुदायिक र निजी संस्थाका पदाधिकारीले स्रोत संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

वाटर एड नेपाल, एसएनभी नेपाल, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट, स्मार्ट पानी र नेपाल नगरपालिका सङ्घको सहयोगमा आयोजित सो कार्यक्रममा वाटर एड नेपालका कवीरदास राजभण्डारीले भूमिगत जल पुनर्भरण आयोजनाबाट सिकिएका पाठबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कुलेसा, पोखरी, इनार आदिका माध्यमबाट सरल प्रविधि, सामान्य जनशक्ति, सामुदायिक सहभागितामा पानीको पुनर्भरण गर्ने प्रयासका सकारात्मक नतिजा आएको उनले बताए । रानीबारी पुनर्भरण आयोजनाबाट त्यस वरपर भूमिगत पानीको सतह दुई सेमी बढेको पाइएको राजभण्डारीले सुनाए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका सहप्राध्यापक डा मोतिलाल रिजालले ‘भूमिगत पानी पुनर्भरण : अहिले हामी कहाँ छौँ ?’ भन्ने विषयमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्दै भूगर्भमा रहेका माटो र चट्टानको प्रकृतिअनुसार जमीनको पानी सतहमुनि जाने बताए ।

कहीँ चट्टानको प्रकृतिअनुसार पानी माथिल्लो सतहमा फिजिएर बसेको छ भने स्यालो ट्युबवेलबाट सहजै निकाल्न सकिने र चट्टान छेडेर भित्र पसेको छ भने डिप बोरिङ गर्नुपर्ने उनले बताए । जहाँ जसरी भूमिगत पानी बसेको छ त्यसको पुनर्भरणका लागि पनि त्यस्तै प्रविधि अपनाउनुपर्ने यस क्षेत्रका विज्ञको भनाइ छ ।

कार्यक्रममा जलभूगर्भविद् सुरेशराज उप्रेतीले नेपालमा भूमिगत पानीको स्रोत उपयोगसम्बन्धी नीतिगत र संस्थागत व्यवस्था आव २०६८÷६९ देखि नै शुरु भएको बताए । “नेपालमा नीति, ऐन, नियम, कार्यविधि र संरचना नभएका होइनन् तर आफ्नो सहुलियतअनुसार परिवर्तन गर्ने कार्य भएकाले तिनको काम प्रभावकारी देखिएन”, उनले भने। नेपालको भूमिगत जलभण्डारको आङ्कलन गरेर त्यसको नक्सासमेत निस्किएको धेरै भए पनि त्यसलाई अद्यावधिक गर्ने कार्यमा विलम्ब भएको उनको भनाइ थियो ।

नयाँ जलस्रोत नीतिले पानीका सबै पक्षलाई समेटेको हुनाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने सहभागीको विचार थियो । पानीको तथ्याङ्कआधार सिर्जना गर्ने, यस क्षेत्रका विकास र अनुसन्धान गर्ने, नीति, नियम, कार्यविधि तय गर्ने काम गर्न जल तथा ऊर्जा आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता पनि कार्यक्रमका वक्ताले औँल्याएका थिए ।

कार्यक्रममा एसएनभीका खानेपानीसम्बन्धी परियोजना प्रमुख रतन भण्डारीले दैलेख र सर्लाही जिल्लाका चार–चारवटा पालिकामा खानेपानीको परिमाण, गुणस्तर, पहुँच, पर्याप्त र भरपर्दो सेवा प्रदान गर्न गरिएका प्रयासका बारेमा जानकारी गराए । सो अवसरमा आकासेपानीको व्यवस्थापन र भूमिगत पानी पुनर्भरणमा त्यसले पु¥याएको योगदानका बारेमा स्मार्ट पानीका प्रमुख सञ्चालन अधिकृत अनिशा कर्णले प्रस्तुति दिएका थिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्