काठमाडौं, १० चैत्र । भरत विमल यादव वरिष्ठ लोकतन्त्रवादी नेता हुन् । २०६२/६३ को जनआन्दोलनमा सात दलका नेतामध्ये उनी एक थिए । तर, राजनीतिबाट उनी पलायन जस्तै भए ।
यसपटक भरत विमल यादवलाई प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले सम्मान गरेका छन् । मंगलबार जनकपुरधामस्थित वरिष्ठ लोकतन्त्रवादी नेता यादवको निवासमै पुगेर पुष्पगुच्छा दिएर खादा ओढाइ सम्मान गरेका हुन् ।
‘नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार हो । समाजका अगुवा नागरिकसँग भेटघाटको कार्यक्रम अन्तर्गत आज सदाचारी नेता भरत बिमलजीसँग प्रदेश प्रमुखज्यूले भेटघाट गर्नुभएको छ,’ प्रदेश २ प्रमुख कार्यालयका सचिव ध्रुव गैडाले बताएका छन् ।
वरिष्ठ लोकतन्त्रवादी नेता यादवले आफूलाई प्रदेश प्रमुख डा.अहिराजले निवासमै आएर सम्मान गर्दा आफूले लोकतन्त्रका लागि संघर्षको कदर भएको बताए । उनले आजसम्म लोकतन्त्रका लागि यति संघर्ष गर्दा पनि कुनै पनि दलले कहिल्यै सामान्य सोधपुछ समेत नगरेको तर प्रदेश प्रमुख डा.अहिराजको यो सम्मान उनको सरलतालाई दर्साएको बताए ।
भेटघाटको क्रममा समसामयिक राजनीतिक तथा प्रदेशको अवस्थाबारे कुराकानी भएको प्रदेश प्रमुख कार्यालयका सचिव गैडाले जानकारी दिएका छन् ।