जुम्ला, ११ चैत्र । पछिल्लो समय लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । पहिलोपटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाका सबै माविस्तरमा सचेतना फैलाउने जानकारी दिए । “सबै मिलेर लागुऔषध दुव्र्यसनीका क्रियाकलाप पूर्णरुपमा बन्देज गर्नुपर्छ”, प्रजिअ थापाले भने, “लागुऔषधमा फसेकालाई सुधारगृहमा लैजाने र कानूनी सजाय दिएर सुधार हुन प्रेरित गर्ने कार्य भइरहेको छ । सुधारगृहबाट सुध्रिएर आएको खण्डमा जीविकोपार्जनका क्रियाकलापमा संलग्न गर्न पहल हुनेछ ।”
कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै लागुऔषध ओसारपसार र सेवन गर्नेको सङ्ख्या बढिरहेका छन् । जुम्ला लागुऔषधको प्रभावित जिल्ला बन्दैछ । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी लागुऔषध सेवन तथा ओसारपसार भइरहेको प्रजिअ थापाले बताए । जिल्लामा दबाब समिति गठन गर्ने, लागुऔषध ओसारपसार र सेवन गर्ने क्षेत्रको पहिचान गर्ने र गाउँबस्तीदेखि विद्यालयस्तरसम्म सचेतनाका क्रियाकलाप अघि बढाउने तयारी भइरहेको जिप्रकाले जनाएको छ । रासस