Logo

नक्कली नोट बनाउने कारखानामा छापा, महिलासहित दुई पक्राउ



काठमाडौं, १२ चैत । प्रहरीले नक्कली नोट छाप्ने र बजारमा फैलाउने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका–३ बस्ने रौतहट गुजरा नगरपालिका–२ घर भएका ३५ वर्षीय गन बहादुर लोप्चानलाई नक्कली जस्तो देखिने नेपाली नोट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कली जस्तो देखिने नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि सेक्युरिटी थ्रेड बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्