Logo

माधव नेपालमाथि आफ्नै समूहभित्रबाट विद्रोहको दबाब, धैर्य गर्न आग्रह



काठमाडौं, १३ चैत्र । नेकपा एमालेका कुल १२० सांसदमध्ये माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा ३८ सांसद छन् । यसअघि उनीहरुसँग ४० भन्दा बढी सांसद रहेकामा केहीले गुट परिवर्तन गरिसकेका छन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र खनाल पक्षमा निरन्तर क्षय गराइरहेका छन् । तर, नेपाल भने धैर्यताका साथ उभिएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तालाई पनि धैर्य गर्न भनेका छन् ।

मधव नेपाल ओलीसँग एमालेभित्रै संघर्ष गर्न तयार रहेको अवस्थाबीच उनको समूहको दोस्रो तहका नेताहरु भने विद्रोहका लागि दबाब दिइरहेका छन् । बरु सांसद पद नै गएपनि ओलीसँग मिलेर बस्न नसकिने पक्षमा उभिएका छन् ।

एमाले नेताहरु भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईलगायतका नेताहरु विद्रोह गरेर अगाडि बढ्ने पक्षमा छन् । उनीहरुले बलियो एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानुपर्नेमा जोड दिइरहेका छन् । त्यसको गृहकार्य पनि भइरहेको छ ।

ओलीले एमालेभित्र झनै वर्चश्व बढाइरहेका छन् । यसबाट माधव नेपाल झन् कमजोर हुँदै जाने वातावरण बनेको छ । जति ढिलो गर्यो उति क्षति पुग्ने भन्दै विद्रोहका साथ जानुपर्नेमा नेपालनिकट प्रभावशाली नेताहरुको जोडबल रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्