Logo

डडेल्धुरामा होलीको रौनक



डडेल्धुरा, १६ चैत्र । सुदूरपश्चिमको डडेल्धुरामा परापूर्वकालदेखि मनाइँदै आएको रुपाली होली कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा पनि धुमधामका साथ मनाइँदै छ ।

डडेल्धुराको रुपालबाट बसाइँ सरी भीमदत्त नगरपालिका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका रुपाली समुदायले पुस्तौली रुपाली होलीलाई हरेक वर्ष यहाँ मनाउँदै आएका छन् । गत वर्षदेखि कोरोना कारण प्रभावित हुँदै आएको भए पनि यस वर्ष पनि स्वास्थ्य सुरक्षालाई समेत ख्याल गर्दै यहाँ होलीलाई नितरन्तरता दिइएको छ ।

पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा पाँच दिनसम्म होली मनाइने प्रचलन छ । पछिल्लो समय पहाडबाट बसाइँ सरेर कञ्चनपुरमा बसोबास गर्दै आएका विभिन्न समुदायले आ–आफ्नै ढङ्गले होली पर्व मनाउँदै आएका छन् ।

कञ्चनपुरमा दार्चुला, बैतडी सुमदायको एक किसिमको होली छ भने डडेल्धुराको रुपाली होली छुट्टै छ । त्यसैगरी, अछामी समुदायको होली पनि भिन्न तरिकाले मनाइने गर्दछन् । होलीमा विशेषगरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने प्रचलन छ ।

सो अवसरमा पौराणिक, धार्मिक, राजनीतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ । होलीको दिन ठूलाबाट सानाले आशीर्वाद लिने चलनसमेत रहेको रुपाली होली समितिका अध्यक्ष डम्बरदत्त भट्टको भनाइ छ ।

उनले परम्परागत रुपमा संकृतिको संरक्षणका लागि रुपाली होली पर्व मनाउँदै आएको बताए । “पहिलेदेखि चलिआएको परम्परालाई निरन्तरता दिँदै हामीले होली मनाउने गरेका छौँ”, भट्टले भने, “पछिल्लो समय हाम्रो परम्परा हराउँदै गएको अहिलेका युवापुस्ताले यसको संरक्षण गर्नु आवश्यकता महसुस गरिएको छ ।”

उनले २०१८ सालदेखि हालसम्म कञ्चनपुर र कैलालीलगायत मुलुकका विभिन्न भागमा बसाइँ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिकाबाट बसाइँ सरेकाहरु यहाँ भव्य रुपमा होली मनाउँदै आएको जानकारी दिए । यहाँको बैजनाथ मन्दिरमा पूजा तथा अर्चना गरी शुरु भएको रुपाली होली पूर्णिमा आजका दिन मन्दिरमा पुगेर विसर्जन हुनेछ ।

होली खेलेर सङ्कलन भएको रकम बैजनाथ मन्दिरकै भौतिक संरचना निर्माणदेखि मर्मतसम्भारसम्म खर्च गर्दै आएको अध्यक्ष भट्टले बताए ।

त्यसैगरी, तराई र भारतबाट व्यापारका सिलसिलामा यहाँ आएका भारतीयले समेत बिहानदेखि होली मनाइरहेका छन् । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेतायुगसँग जोडिएको छ । त्रेतायुगमा भगवान् विष्णुका परम भक्त प्रल्हानसँग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएकी थिइन् र विष्णुभक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन शुरु भएको स्थानीयवासी पुरुषोत्तम जोशीको भनाइ छ ।

वर्तमान समयमा पश्चिमा संस्कृतिको आक्रमणमा परेर होली पर्वको मौलिकता हराउन लागेकोप्रति पाकापुस्ता चिन्तित बनेका छन् । पछिल्लो समय होली पर्वलाई रङ खेल्ने पर्वका रुपमा मात्रै लिने गरिएको जोशीको भनाइ छ । “अहिले रङहरु खेल्नुलाई मात्रै होलीका रुपमा लिइन्छ त्यसो होइन”, उनले भने, “परम्पराअनुसार होलीमा लोक बाजाका साथ विभिन्न किसिमका लोकगाथा अभिनयका साथ प्रस्तुत हुन्छन् ।” रासस



प्रतिक्रिया दिनुहोस्