ऋषि धमलाः यतिबेला नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुमधुर सम्बन्ध छ । दुवै नेताहरू आआफ्नो देशमा निकै शक्तिशाली छन् । अन्तर्राष्ट्रियस्तरमा पनि दुवै नेताको विशिष्ट उचाइ बनेको छ । ओलीले शान्तिका लागि संघर्षरत देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन सके । मोदीले भारतलाई विश्वकै शक्तिशाली बनाउने गरी प्रगति पथमा बढाउन सके । नेपाल ओलीमय हुँदा भारत मोदीमय छ । यसकारण दुवै नेताहरू मिलेर आफ्नो देशलाई समृद्धिको युगमा केन्द्रित गर्न सकिरहेका छन् ।
ओली भारतलाई निकै बुझेका नेतामध्ये हुन् । मोदी पनि नेपाललाई निकै बुझेका नेता हुन् । प्रधानमन्त्री नहुँदै मोदीले नेपालको भ्रमण गरेको खुलिसकेको छ । उनी नेपालको हिमाल, पहाड र तराई पुगेका थिए । हिमालयमा तपस्या गरेका थिए । त्यसैले उनी प्रधानमन्त्री भइसकेपछि पनि पटकपटक नेपाल भ्रमणमा आए । मोदीको भ्रमण धार्मिक पनि रह्यो । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम पुगे । त्यागी मोदीमा आध्यात्मिक चिन्तन छ । ओलीमा पनि आध्यात्मिक चिन्तन देखिन्छ । उनी पूर्वीय दर्शनबाट निकै प्रभावित छन् । आफ्नोपन न्यानो मान्छन् । राष्ट्रवादी भावनाले ओतप्रोत छन् ओली । मोदीमा पनि मातृभूमिप्रति अगाध माया छ । उनले भन्ने गरेका छन्, ‘पहिला देश अनि पार्टी ।’ यसरी ओली र मोदीबीच केमेस्ट्री मिलेको छ ।
देशभक्त र पूर्वीय दर्शनका प्रेमी भएकाले ओली र मोदीबीच गाडा मित्रता देखिन्छ । जसरी ओलीले आफ्नो देशमा धर्म संस्कृतिको संरक्षणमा भूमिका खेलिरहेका छन् त्यसरी नै ओलीले पनि देशमा संस्कृतिको जगेर्नामा जोड दिइरहेका छन् । कम्युनिस्ट नेताले धर्म मान्दैनन् भन्ने धारणालाई गलत सावित गरेका छन् । पशुपतिनाथको विशेष पूजा मात्र गरेनन् जलहरी चढाउन बजेटकै विनियोजन गरे । कतिपयले यो कदमको आलोचना गरे पनि ओली झन् लोकप्रिय बन्न सफल भएका छन् । यता ओली लोकप्रिय छन् उता मोदी लोकप्रिय छन् । दुवैबीचको सुमधुर सम्बन्धले नेपाल भारतबीचको सम्बन्धलाई अझ उचाइ प्रदान गरेको छ ।
नेपाल र भारतबीच बेलाबेलामा समस्याहरू नआउने होइनन् । तर, कूटनीतिक माध्यमले यसको समाधान हुने गरेको छ । ओली र मोदी युगमा जस्तोसुकै समस्या पनि कूटनीतिक माध्यमले समाधान हुने गरेको छ । सीमासम्बन्धी समस्या नआएको होइन । केही समय संवादहीनताको अवस्था पनि बन्यो । तर, प्रधानमन्त्री तहमै संवाद भई संवादहीनतामा आइसब्रेक भयो । कालापानी क्षेत्रको सीमा समस्यामा पनि दुवै देशले मन माझेर कुराकानी गरे । समस्याको समाधान कूटनीतिक माध्यमले नै गर्ने सहमति बन्यो । जस्तोसुकै समस्या आए पनि राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धले निरन्तरता पाइनै रहेको छ । ओली प्रधानमन्त्री भइरहँदा जलविद्युत्का क्षेत्रमा महत्वपूर्ण काम अगाडि बढ्यो । अरुण तेस्रोको पूर्वाधार विकासको शिलान्यास नै भयो । अरुण तेस्रो भारतीय कम्पनीले निर्माण गरिरहेको छ । निर्माण सम्पन्न भएपछि नेपालको विकासमा अभूतपूर्व सफलता हासिल हुन्छ ।
ओलीकै कार्यकालमा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भई तेल आयात सुरु हुन थाल्यो । ओली र मोदीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन भयो । नेपालले वार्षिक रूपमा अर्बौंको ढुवानी खर्च बचाउन सकेको छ । पाइपलाइन विस्तारका कामहरू अझै भइरहेको छ । भारतले कोरोना भाइरसविरुद्धको संघर्षमा नेपाललाई निकै साथ दियो । कोरोना कालमा खुल्ला सीमाको व्यवस्थापनमा दुवै देशका सुरक्षा निकाय र स्वास्थ्यकर्मी समन्वय गरेर सक्रिय भए । १८ सय किलोमिटर खुल्ला सीमाको व्यवस्थापन ठूलो चुनौती थियो । तर, दुवै देशले यसमा सफलता हासिल गरे । भारतले कोरोना कहरका बेलामा नेपाललाई ठूलो सहयोग ग¥यो । यसमा पनि ओलीको कूटनीतिक क्षमता नै मुख्य कारण थियो । भ्यान्टिलेटर निरन्तर सहयोग ग¥यो । रोकथामसम्बन्धी सामाग्रीहरू पठायो ।
विश्वका कतिपय धनी देशहरूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन नपाइरहेको अवस्थामा नेपालले भारतबाट अनुदानमै भ्याक्सिन पायो । १० लाख डोज अक्सफोर्ड भ्याक्सिन नेपालमा आयो । सेरम इन्स्टिच्युटले उत्पादन गरेको भ्याक्सिन नेपालमा आई प्रयोगमा समेत ल्याइसकिएको छ । भ्याक्सिन ल्याउन ओली नेतृत्वको सरकारले कूटनीतिक क्षमता प्रदर्शन गरेको थियो । यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको सुमधुर सम्बन्धको कारण पनि सफल भएको हो ।
दुई देशबीच सम्बन्धको उचाइ अझ बढेको भ्रमण र द्विपक्षीय हितसम्बन्धी कूटनीतिक गतिविधिबाट पनि बुझ्न सकिन्छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पनि नेपालको सबैभन्दा बढी कूटनीतिक तहमा भेटघाट, कुराकानी र छलफल भारतसँगै नै भएको छ । कोरोना भाइरसको संक्रमणका बाबजुद पनि उच्च तहको भ्रमणहरू भएका छन् । सन् २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपटक टेलिफोन वार्ता गरे । जसमध्ये एउटा टेलिफोन वार्ताले सीमा समस्याले संवादहीनताको अवस्थाबीच आइसब्रेक नै ग¥यो । यसपछि विभिन्न तहमा संवादले निरन्तरता पायो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १४ देखि १५ जनवरीमा भारतको भ्रमण गरे । नेपाल भारत संयुक्त कमिसनसम्बन्धी बैठकमा उनले सहभागिता जनाए । उक्त भ्रमणका क्रममा सीमा व्यवस्थापन, कटेक्टिभिटी, व्यापारलगायतका विषयमा छलफल भयो । दुवै पक्षले आर्थिक लाभको एजेन्डामा छलफल गरे । २२ अक्टोबर, २०२० मा रअ प्रमुख सामन्तकुमार गोयलद्वारा नेपाल भ्रमण गरे । उनले बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले नै जानकारी दियो । यो भ्रमणपछि भारतका स्थल सेनाका प्रधानसेनापति मनोजमुकुन्द नरवाणे नेपाल आए । कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाली सेनाको मानार्थ सेनाको उपाधि लिने उक्त भ्रमण महत्वपूर्ण सावित भयो । नरवाणेको भ्रमणले दुई देशबीच सैन्य तहको सम्बन्धलाई निरन्तरता मात्र दिएन मजबुत बनायो ।
भ्रमणको सिलसिला चलिरह्यो । भारतबाट विदेशसचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल भ्रमण गरे । नेपाली भाषा राम्ररी बोल्न जान्ने श्रृंगलाले दुईदिने नेपाल भ्रमणमा महत्वपूर्ण कुराकानी गरे । उनले नेपालले उठाएको सीमा व्यवस्थापनको विषय पनि जानकारीमा राखेर दिल्ली फर्किएका थिए । यो भ्रमण दुई देशबीच देखिएका समस्याको निक्र्योल गर्न उपयोगी सावित भयो । दुई देशबीच विभिन्न मन्त्रालयका सचिव तहमा समेत छलफलहरू भए । ऊर्जा, वाणिज्यदेखि सुरक्षा क्षेत्रमा द्विपक्षीय छलफलहरू रचनात्मक र सकारात्मक रूपमा अगाडि बढे । दुवै देशलाई लाभ हुनेगरी परिणाममुखी कामहरू निरन्तर भइरहे ।
अबको बाटो
नेपाल र भारतबीच विश्वमै नभएको विशिष्ट सम्बन्ध छ । दुवै देशबीच खुल्ला सीमा छ । रोटी बेटीको सम्बन्ध सदिऔंदेखि चलिआएको छ । जनजनको यो तहको सम्बन्ध विश्वमै पृथक् छ । नेपालको विकास भारतको विकाससँग जोडिएको छ र भारतको विकास नेपालको विकाससँग जोडिएको छ । त्यसैले ओली र मोदी एकअर्काको विकासमा जोडिएका छन् । सबै मिलेर विकासमा जानुपर्छ भन्ने मोदीको नारा छ । उनले सबका साथ सबका विकास नारा छिमेकसँगको सम्बन्धमा समेत भनेका छन् ।
यसलाई नेपालका राजनीतिक दल र जिम्मेवार नेताहरूले सोच्नुपर्छ । मोदी जस्तो नेपाललाई माया गर्ने नेता भारतमा छन् । उनले नेपालको समृद्धि चाहेका छन् । यसलाई मनन् गरेर भारतसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली धरातलीय यथार्थलाई बुझेर छिमेकी देश भारतसँग अझ सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवका अलावा पूर्वप्रधानमन्त्रीसमेत रहेका उक्त दलका नेता डा.बाबुराम भट्टराईले छिमेकसँगको सम्बन्धलाई खुला हृदयका साथ आफ्नो देशहितमा सदुपयोग गर्नेतर्फ पाइला चाल्नुपर्छ । यसैमा नेपाल र नेपालीको हित हुन्छ ।-(रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित लेखबाट)