Logo

प्रदूषण बढाउँदै डढेलो



काठमाडौं, चैत १८ । डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ ।

युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याएका छन् ।

त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्माले भने “त्यसैले अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त विषय बनेर अगाडि आइरहेको छ ।”

उनले भनेजस्तै विश्वको डढेलोको अवलोकन गरिरहेको नासाको भूउपग्रहले समग्र पृथ्वीकै अधिक भूभाग नै डढेलोको मारमा परेको तस्बिर सार्वजनिक गरिरहेको छ ।
जसअनुसार कुन देशका मात्र हैन कुन महादेशमा कति भूभाग डढेलोमा छ भन्ने अनुसन्धानमा विज्ञहरू जुटेका छन् ।

ती तस्बिर हेर्दा एसिया र अफ्रिका अन्य महादेशभन्दा बढी डढेलोको चपेटामा परेको देखिएको विज्ञ शर्माले बताए । दक्षिण एसिया पछिल्लो समय डढेलोको हब बनेको छ । विगत २४ घण्टामा दुई सय स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्