Logo

धनगढी–अत्तरिया ६ लेन सडक निर्माण



कैलाली, चैत २५ । कहिले जाम हुने त कहिले माटो उडेर धुलाम्य हुँदा सवारीचालकका आँखा टालिएर दुर्घटनाको भय हुने धनगढी–अत्तरिया सडक अब सोचेभन्दा फरक भएको छ। धनगढीको मोहना पुलदेखि अत्तरियासम्मको धुलाम्य सडक अहिले चिल्लो बन्दा धनगढी मोहना पुलदेखि अत्तरिया चोकसम्म पुग्न समय नै लाग्दैन।

मोहना पुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडकखण्डको निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा यात्रा सहज भएको छ। ‘अब अत्तरिया टाढा रहेन,’ स्थानीय विनय खड्काले भने, ‘धनगढीबाट अत्तरिया १५ मिनेटमै पुग्न सकिने भएको छ।’ पहिले धनगढी–अत्तरिया ‘सिंगल लेन’ हुँदा सडक जाम हुने गरेको बताउँदै उनले भने, ‘अहिले त एकैपटक धनगढीदेखि सरर्र अत्तरिया पुगेको पत्तै हुँदैन।’

अत्तरिया–धनगढी आउजाउ गर्न असहज हुने गरेको बताउँदै अत्तरिया क्षेत्रमा पत्रकारिता गरिरहेका वीरेन्द्र भट्ट भन्छन्, ‘अहिले धनगढीमा कुनै कार्यक्रम भयो भने क्षणभरमै पुग्न सकिन्छ।’ धुलाम्य सडक हुँदा धनगढी जानै मन नलाग्ने, गइहाले पनि झोलामा अर्को एक जोर लुगा राखेर लैजानुपर्ने बाध्यता टरेको बताउँदै उनले भने, ‘पहिले धनगढी जाँदा एक जोर लुगा फोहोर भइसक्थ्यो, अर्को जोर लुगा झोलामा भिरेर जानुपथ्र्यो, अहिले त्यो हटेको छ।

’चिल्लो र चिप्लो सडकले सवारीसाधनलाई पनि अप्ठ्यारो नहुने गरेको उनले बताए। ‘पहिले ठाउँठाउँमा फुटेको सडकमाथि मोटरसाइकल चलाउँदा दैनिकजसो पन्चर हुनुका साथै बिग्रने गरेको थियो,’ उनले भने, ‘अहिले त मोटरसाइकल पनि न पन्चर हुन्छ, न त पहिलेको जति बिग्रन्छ।’ यस्तो सब सडक सुविधाका कारण भएको उनी बताउँछन्।

सडक निर्माण हुँदा धुलोले किनारमा व्यापार व्यवसाय गर्नेहरू र बसोबास गर्नेहरूलाई सास्ती उस्तै थियो। ६ लेन सडक निर्माण भएपछि भने धुलोको सास्ती कम भएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्