काठमाडौं, २६ चैत्र । नेपाल पत्रकार महासंघको बुधबार भएको चुनावमा सत्तानिकट पत्रकारहरुको प्यानललाई धक्का लागेको छ । देशभर भइरहेको मनगणनाको परिणाम अनुसार विपुल पोखरेल नेतृत्वको प्यानल भारी मतान्तरले अगाडि रहेको छ ।
निर्मला शर्मा नेतृत्वको सत्तानिकट पत्रकारहरुको प्यानल अधिकांश जिल्लाहरुमा पराजित भएको छ । केन्द्रमा पनि पोखरेल नेतृत्वको प्यानल फराकिलो मतान्तरले अगाडि बढेको छ ।
ललितपुरमा सागर न्यौपाने नेतृत्वको प्यानल विजयी भएको छ । कोषाध्यक्षमा राजु बस्नेत विजयी भएका छन् । बस्नेत रिपोर्टर्स क्लब नेपाल ललितपुर शाखाका अध्यक्ष पनि हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलका शक्तिशाली मन्त्रीहरुको गृहजिल्लामै उनीहरु निकट पत्रकारको प्यानल पराजित भएका छन् । रुपन्देहीमा प्रगतिशील लोकतान्त्रिक प्यानलका रामराज पोखरलेको टिम विजयी भएको छ । पोखरेलले १६३ मत ल्याउँदा प्रेस चौतारीका दिनेश पाण्डेले १२० मत प्राप्त गरेका थिए । रुपन्देही अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्ला हो ।
रौतहट, बारा, मुस्ताङ, रसुवालगायतका जिल्ला शाखामा प्रधानमन्त्री ओलीनिकट पत्रकारको समूह पराजित भएका छन् । सहरी विकासमन्त्री प्रभु साहको गृहजिल्ला रौतहटमा प्रेस चौतारीका उम्मेदवार पराजित भएका छन् ।
प्रतिष्ठान प्रदेश अध्यक्षमा बालकृष्ण अधिकारीको टिम नै जितेको छ । अधिकारी प्रेस युनीयनमा आवद्ध छन् ।