काठमाडौं, २६ चैत्र । सरकारका चारजना मन्त्रीको सांसद पद गएको छ । आज प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट निर्वाचित चारजना सांसदबाट पदमुक्त भएको पढेर सुनाएका हुन् ।
सांसदबाट पदमुक्त हुनेमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकासमन्त्री प्रभु साह छन् । उनीहरु चारैजना माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा रहेका छन् । चारैजना प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् ।
नेकपा माओवादी केन्द्रले चारैजनालाई स्पष्टिकरण सोधेकोमा उचित जवाफ नआएपछि कारबाहीको निर्णय गरी प्रतिनिधि सभामा सांसद पदबाट मुक्त गर्न पत्र लेखेको थियो । सभामुख सापकोटाले नियमावली अनुसार भन्दै पदमुक्त भएको जानकारी दिएका थिए ।
यसैगरी, प्रतिनिधि सभाको अर्को बैठक ३० चैत्र दिनको १ बजे बैठक बस्ने भएको छ ।