Logo

भारतमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिए



काठमाडौं, चैत २९ । छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार छ सय ८२ जनामा सङ्क्रमण देखिएको हो ।

एकै दिन यति धेरै जनामा सङ्क्रमण पुष्टि भएको यो नै पहिलो हो । भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५५ हजार चार सय ६५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड १० लाख ७८ हजार तीन सय ३३ जना उपचारपछि निको भएका छन् ।

११ लाख सात हजार आठ सय २७ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा आठ सय ३८ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार छ सय ८२ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ६९ हजार पाँच सय ९२ जना कोरोना सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमितको सङ्ख्या एक करोड ३४ लाख ४५ हजार छ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड १८ लाख ३८ हजार पाँच सय ६४ जना उपचारपछि निको भएका छन् ।

१२ लाख ५४ हजार नौ सय ७३ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार पाँच सय ३५ सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ५१ हजार चार सय ६९ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।



प्रतिक्रिया दिनुहोस्