काठमाडौं, ३० चैत्र । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा पछिल्लो समय कोरोनाको दोस्रो लहर फैलिएको भन्दै जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्नेबारे छलफल भएको वनमन्त्री प्रेम कुमार आलेले जानकारी दिएका छन् । नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने सवालमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्टमन्त्री प्रदीप कुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले संयुक्त रुपमा देशवासीको नाममा सम्बोधन गर्ने छन् ।
मन्त्री आलेका अनुसार आजको बैठकमा सीसीएमसीको पछिल्लो प्रस्तावमाथि छलफल भएको थियो । आजको बैठकमा सार्वजनिक यातायात, स्कुल तथा कलेज, हवाई सेवा लगायतका विषयमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको जनाईएको छ। तर, आजको बैठकमा तत्काल लकडाउन नगर्ने निश्कर्ष निकालिएको छ । File Photo/ReportersNepal