प्रभात सिंहः कोरोना भाइरसको कहरका कारण विश्वभर भ्याक्सिन कूटनीतिले निकै महत्वपूर्ण भूमिका खेल्यो । परराष्ट्र सम्बन्धका आधारमा कोभिड—१९ विरुद्धको संघर्षमा सहयोग आदानप्रदान भए । भ्याक्सिन सहयोग गर्ने उत्पादक देशहरूले पनि कूटनीतिक सम्बन्धलाई नै आधार बनाए । भूराजनीतिक महत्वलाई आधार बनाएर भ्याक्सिन पठाए । नेपालले पनि भूराजनीतिक महत्वका कारण भारतबाट १० लाख डोज भ्याक्सिन प्राप्त गर्यो । विश्वका कतिपय विकसित मुलुकहरूले भ्याक्सिन नपाइसकेको अवस्थामा नेपालले छिमेकी मुलुक भारतबाट भ्याक्सिन प्राप्त गर्यो । अर्को छिमेकी मुलुक चीनले नेपाललाई ५ लाख डोज भ्याक्सिन अनुदान सहयोगको घोषणा भयो । बेलायतबाट कोभ्याक्सअन्तर्गत २० लाख डोज भ्याक्सिनको घोषणा भयो । तर, सबैभन्दा पहिले नेपालमा भ्याक्सिन पठाउने देश भारत नै भयो ।
भारतसँग तीनतर्फ सीमा जोडिएको कारण पनि नेपाल उसको चासोमा पर्दै आएको छ । उत्तरी छिमेकी चीनसँग एक्तर्फ सीमा जोडिएको छ । यसकारण पनि चीनको पनि चासो छ । नेपालले सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको छ । छिमेकी प्राथमिकतामा परेका छन् । तर, भूगोल र सहज आवतजावतका कारण भारतसँगको सम्बन्धले निकै महत्व राख्ने गरेको छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पनि नेपालको सबैभन्दा बढी कूटनीतिक तहमा भेटघाट, कुराकानी र छलफल भारतसँगै नै भएको छ । कोरोना भाइरसको संक्रमणका बाबजुद उच्च तहको भ्रमणहरू भएका छन् ।
यो वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गरे । उनले १४ देखि १५ जनवरीमा नेपाल भारत संयुक्त आयोगसम्बन्धी बैठकमा सहभागिता जनाए । जसमा सीमा व्यवस्थापन, कनेक्टिभिटी, व्यापारलगायतका विषयमा छलफल गरे । नेपाल र भारतबीच सीमाको विषयले समस्यामा केही सम्बन्ध आइरहँदा उक्त भ्रमण भयो । नेपालले सीमा व्यवस्थापनको दीर्घकालीन उपायबारे कुरा उठायो । भारतले भने सीमा समस्यालाई भन्दा अन्य विषयलाई प्राथमिकतामा राखेर कुराकानी गर्यो ।
लिपुलेकमा भारतले बाटो उद्घाटन गरेपछि नेपालले कूटनीतिक तहबाटै आपत्ति जनायो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर उक्त क्षेत्र आफ्नो भएको स्पष्ट पार्यो । यसले सम्बन्धमा चिसोपना आएको थियो । केही समय संवादहीनताको अवस्था नै सिर्जना भयो । तर, त्यसलाई विभिन्न तहको कुराकानीले चिर्न सक्यो । फेरि संवादको अवस्था बन्यो ।
भारतबाट २२ अक्टोबर, २०२० मा रअ प्रमुख सामन्तकुमार गोयलद्वारा नेपाल भ्रमण भयो । रअका प्रमुख सामन्तकुमार गोयलको भ्रमणले राजनीतिक तरंग नै ल्यायो । गोयलले एक रात नेपाल बसाईंमा बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर कुराकानी गरे । जसलाई प्रधानमन्त्रीको सचिवालयले खुलायो पनि । गोयलको भ्रमणबारे विभिन्न टीकाटिप्पणी भए । यो भ्रमण भारतका स्थल सेनाका प्रधानसेनापति मनोजमुकुन्द नरवाणेले नेपाल भ्रमण गर्नुभन्दा केही दिन अघि मात्र भएको थियो । नरवाणेले नेपाली सेनाको मानार्थ सेनाको उपाधि लिन नेपाल भ्रमण गरेका थिए । उनको भ्रमण दुई देशको सम्बन्ध सुधारमा महत्वपूर्ण कडी बन्यो ।
भारतबाट विदेशसचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल भ्रमण गरे । नेपाली भाषा राम्ररी बोल्ने र जान्ने श्रृंगलाले दुई दिने नेपाल भ्रमणमा महत्वपूर्ण कुराकानी गरे । उनले नेपालले उठाएको सीमा व्यवस्थापनको विषय पनि जानकारीमा राखेर दिल्ली फर्किएका थिए । यो भ्रमण दुई देशबीच देखिएका समस्याको निक्र्योल गर्न उपयोगी सावित भयो । दुई देशबीच विभिन्न मन्त्रालयका सचिवतहमा समेत छलफलहरू भए । सन् २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपटक टेलिफोन वार्ता गरे । जसमध्ये एउटा टेलिफोन वार्ता सीमा समस्याले संंवादहीनताको अवस्थाबीच आइसब्रेक नै भयो । त्यहींबाट भारतले पुनः संवादको थालनी गरेको थियो । भारतबाट निरन्तर संवादको पुनः थालनीहरू भए ।
भारतपछि नेपालको सबैभन्दा बढी कूटनीतिक गतिविधि चीनसँग भयो । चीनबाट पनि उच्च तहको भ्रमण भयो । चीनका रक्षामन्त्री वी फेङइद्वारा एक दिवसीय भ्रमण भयो । वीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरे । चीनबाट विदेशमन्त्रीले भ्रमण गर्ने चर्चा चलिरहँदा रक्षामन्त्री वी नेपाल आएका थिए । उनले नेपालका अलावा श्रीलंका र पाकिस्तानको पनि भ्रमण एउटै ट्रिपमा गरेका थिए । चीनले सैन्य तहमा सम्बन्ध अगाडि बढाइरहेको सन्देश थियो त्यो । विभिन्न समयमा नेपाल र चीनबीच परराष्ट्रमन्त्री, सचिवस्तरमा समेत भर्चुअल कुराकानी र टेलिफोन वार्ताहरू भए ।
अर्कोतर्फ, चीनबाट चासो र भ्रमणहरू अन्य तहमा पनि भए । चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारूढ तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबीच विशेष सम्बन्धअनुसारका गतिविधिहरू भए । संयुक्त प्रशिक्षणहरूसमेत भए । भर्चुअल बैठकहरू पनि दुई देशका कम्युनिस्ट पार्टीबीच भए । यसले चीनको नेपालमा प्रभाव र चासो बढेको सन्देशहरू गयो ।
चीनका राष्ट्रपति सी चिनफिङसँग राष्ट्रपति विद्यादेवी भण्डारीले २७ अप्रिल २०२० मा टेलिफोन वार्ता गरिन् । कोभिड—१९ विरुद्धको संघर्ष र सहयोग आदानप्रदानका अलावा ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कबारे कुराकानी भएको थियो । चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गरेर २३ वर्षयता चीनको राष्ट्रपतिबाट नेपाल भ्रमण नभएको अवस्थाको आइसब्रेक गरे । यसले पनि नेपालमा चीनको चासो निकै बढेको सन्देश गयो । चिनियाँ लगानी नेपालमा बढ्दो छ । खासगरी निर्माण क्षेत्रमा चिनियाँ कम्पनीहरू आएका छन् । सिमेन्टका ठूला कम्पनीहरू चिनियाँ लगानीमा खुलिरहेका छन् । जसका कारण निर्माण क्षेत्रमा चीनले बढी हात हाल्न थालेको छ ।
चीनको बढ्दो चासोले नेपालमा भारतको स्थान चीनले लिन खोजेको विषय पनि नउठेको होइन । चीनबाट विभिन्न तहमा भएका भ्रमणहरू र आवतजावतले पनि यो उठानलाई बल पु¥यायो । नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुग्दा चीनबाट अर्को भ्रमण भयो । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गोऊ यचौले २७ डिसेम्बर २०२० मा चार दिने नेपाल भ्रमण गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीका अलावा नेकपाका अध्यक्षका हैसियतका प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए । उनको भ्रमणले राजनीतिक तरंग नै ल्याएको थियो । चीनबाट अर्को टोली स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको थियो । यसले पनि तरंग नै ल्यायो ।
नेपालमा बेलायतको चासो पनि उत्तिकै देखियो । बेलायतको विदेशमन्त्री लर्ड अहमदसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग धेरैपटक भर्चुअल कुराकानी भयो । नेपालको पुरानो मित्र भएकाले बेलायतको निकै चासो छ । बेलायतले कोरोनाविरुद्धको २० लाख डोज भ्याक्सिन सहयोगको घोषणासमेत गरेको छ ।
बंगलादेशसँग नेपालको कूटनीतिक तहका गतिविधिहरू बढ्दै गएको छ । २२ र २३ मार्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको भ्रमण गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन वार्ता गरी सापटी मलको बारे समेत कुराकानी गरेका थिए । नेपालबाट ऊर्जा खरिदबारे बंगलादेशले कुराकानी गर्दै आएको छ । त्यहाँको बढ्दो जनसंख्याका लागि आवश्यक ऊर्जाका लागि नेपाल विकल्प हुन सक्नेतर्फ अध्ययन र प्रयासहरू बढिरहेको छ । त्यसैले पनि नेपालसँगको सम्बन्धमा उसको चासो बढिरहेको छ ।
भारत, चीन र सार्क देशहरूबाहेक नेपालले युरोप, अमेरिकालगायत देशहरूसँग पनि कूटनीतिक तहमा गतिविधिहरू बढाइरह्यो । कोरोना भाइरसको महामारीबीच भर्चुअल कुराकानीहरू क्यानडा, इजरायललगायतका देशहरूसँग पनि भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका थिए । इजरायल सबैभन्दा पहिले नेपालसँग दौत्यसम्बन्ध राखेको थियो । ऊसँग नेपालको आर्थिक सम्बन्ध पनि विकास भइरहेको छ ।
खाडी देशहरूबाट पनि नेपालमा चासो बढेको छ । कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्सलगायत देशहरूसँग सम्बन्ध विस्तार भइरहेको छ । नेपालसँग खाडी मुलुकहरूको आर्थिक सम्बन्ध पनि विस्तार हुँदै गएको छ । भ्रमणहरू पनि भइरहेका छन् । धनी देशहरूका रूपमा परिचित खाडी मुलुकहरूबाट लगानी भित्र्याउने प्रयासहरू पनि भइरहेका छन् । नेपालमा लगानीका लागि विदेशीको चासो बढिरहेको छ । तर, अझै पनि लगानीकर्ताहरूलाई विश्वस्त बनाउन सरकारले सकिरहेको छैन । वातावरण निर्माण गर्ने दायित्व सरकारको हो ।
नेपालको भूराजनीतिक महत्वका कारण विदेशीको चासो बढ्दै गएको छ । विशेषगरी छिमेकी मुलुकहरू भारत र चीनबीच नेपालमा प्रभाव बढाउने प्रतिस्पर्धा नै चलेको छ । त्यसमा अमेरिका र युरोपेली देशहरू पनि होमिएका छन् । चीन बीआरआईका साथ प्रस्तुत भएको छ । अमेरिकाको एमसीसी छँदैछ । भारतले पनि ठूलो आर्थिक सहयोगका साथ प्रभाव बढाउने भूमिका निभाउँदै आएको छ । खाडी देशहरूले पनि नेपालमा प्रभाव बढाउने गरी भूमिका देखाउन थालेका छन् । यसरी विदेशीको बढ्दो चासो र प्रभाव बढाउने प्रतिस्पर्धामा नेपालले आफूलाई कसरी प्रस्तुत गर्ने त्यो महत्वपूर्ण विषय बनेको छ । शक्तिशाली देशहरूको प्रतिस्पर्धालाई आफू अनुकूल ढाल्न सके नेपालले ठूलो लाभ लिन सक्छ । तर, त्यसमा प्रतिकूल अवस्था सिर्जना भए नेपाल विदेशीको क्रीडास्थलमा परिणत हुन्छ ।
बितेको एक वर्ष कहिले के भयो
२२ देखि २३ मार्च, २०२१ म राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बंगलादेशको भ्रमण ।
८ फेब्रुअरी २०२१ मा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा बेलायतका विदेशमन्त्री लर्ड अहमदसँग भर्चुअल कुराकानी । कोभ्याक्सबारे कुराकानी ।
५ फेब्रुअरी २०२१ मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेशमन्त्री वाङ ई बीच टेलिफोन वार्ता । चीनले ५ लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने घोषणा ।
१ फेब्रुअरी २०२१ मा नेपाल सरकारद्वारा म्यानमारको राजनीतिक घटनाक्रमबारे प्रेस विज्ञप्ति । लोकतन्त्र र संवैधानिक प्रक्रिया पुनस्र्थापित हुने आशा व्यक्त ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा १४ देखि १५ जनवरीसम्म भारत भ्रमण । १५ जनवरी, २०२१ मा नेपाल भारत संयुक्त कमिसनसम्बन्धी बैठक । नेपालले कोभिड—१९ भ्याक्सिन, सीमा व्यवस्थापन, कनेक्टिभिटी, व्यापार, ऊर्जा, जलस्रोत र आर्थिक सहयोग आदानप्रदानलगायतबारे विषय उठायो ।
२७ डिसेम्बर २०२० मा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गोऊ येचौले चार दिवसीय नेपाल भ्रमणगरे । सत्तारूढ नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा उनी चार दिन नेपाल बसेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीका अलावा नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए ।
२९ नोभेम्बर २०२० मा चीनका रक्षामन्त्री वी फेङईद्वारा एक दिवसीय नेपाल भ्रमण । वीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता ।
२६ र २७ नोभेम्बरमा भारतका विदेशसचिव हर्षवद्र्धन श्रृंगलाद्वारा नेपाल भ्रमण । द्विपक्षीय सम्बन्ध, सीमा, व्यापारलगायतका विषयमा कुराकानी । विकासका आयोजनाबारे छलफल ।
२२ अक्टोबर, २०२० मा रअ प्रमुख सामन्तकुमार गोयलद्वारा नेपाल भ्रमण । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता ।
२४ सेम्टेम्बर २०२० मा सार्क विदेश सचिवस्तरीय भर्चुअल बैठक ।
२४ सेम्टेम्बर २०२० मा सार्क विदेशमन्त्रीस्तरीय भर्चुअल बैठक ।
१ सेप्टेम्बर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदबीच टेलिफोन वार्ता । बंगलादेशसँग सापटीमा ५० हजार टन युरिया मल ल्याउनेबारे कुराकानी ।
२७ अगस्ट २०२०, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका विदेशमन्त्री लर्ड अहमदबीच भर्चुअल बैठक । कोभिड रोकथाम सहयोग र मौसम परिवर्तनबारे कुराकानी ।
१७ अगस्ट २०२०, नेपाल भारत ओभरसाइट मेकानिजमको काठमाडौंमा भिडियो कन्फरेन्समार्फत आठौंं बैठक । भारतको सहयोगमा बढेका आयोजनाको प्रगतिबारे छलफल । विशेषगरी, तराईका सडक, अन्तरसीमा रेल, अरुण तेस्रो जलविद्युत् आयोजना, पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सिँचाइ, ऊर्जा, ट्रान्समिसन लाइन, नेपाल प्रहरी प्रशिक्षण केन्द्रको निर्माण, संयुक्त चेकपोस्ट, रामायण सर्किट, महाकाली नदीमा मोटर जाने पुल, कृषि, सांस्कृतिक सम्पदालगायतका विषयमा छलफल भएको ।
१५ अगस्ट २०२० । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता । कोभिड— १९ सँगको लडाइ, द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी ।
७ अगस्ट, २०२० । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेबीच टेलिफोन वार्ता ।
१५ जुलाई २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अरन्चा गोन्जालेजबीच टेलिफोन वार्ता ।
२० जुन, २०२० । नेपालद्वारा भारत र चीनबीच गलवान उपत्यकामा भएको झडपबारे प्रेस विज्ञप्ति जारी । शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान निकाल्न दुवै देशलाई आग्रह ।
१८ जुन, २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बेल्ट एन्ड रोड इन्टरनेसनल कोअपरेसनः कम्ब्याटिङ कोभिड—१९ विथ सोलिडारिटीमा सहभागी । २६ देशका मन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशक सहभागी ।
११ जुन २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा क्यानडाका विदेशमन्त्री फ्रान्कोइस फिलिपे चाम्पाङ्ग्नेसँग टेलिफोन कुराकानी । कोभिड—१९ सँगको संघर्षबारे कुराकानी ।
११ जुन, २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका विदेशमन्त्री लर्ड अहमदसँग टेलिफोन वार्ता ।
९ जुन, २०२०, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र युरोपेली युनियनका उपाध्यक्ष जोसेफ बोरेलसँग टेलिफोन वार्ता ।
१ जुन, २०२० । प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता । द्विपक्षीय सम्बन्धबारे छलफल ।
१३ मे, २०२० । लिपुलेक हुँदै जाने बाटोको भारतले उद्घाटन गरेको नेपाल भारत सीमासम्बन्धी विषयहरूमा बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सर्वदलीय बैठक । राजनीतिक दलहरूद्वारा कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव ।
९ मे, २०२० । लिपुलेकबारे नेपाल बोल्यो । नेपालले उक्त क्षेत्र आफ्नो भएको स्पष्ट पा¥यो । नेपालद्वारा सीमाको समस्या कूटनीतिक माध्यमले समाधान गर्न जोड ।
३० अप्रिल, २०२० । प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रेउभेन रिभलिनबीच टेलिफोन वार्ता ।
२७ अप्रिल, २०२० । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता । कोभिड—१९ सँगको संघर्षबारे कुराकानी । चिनियाँ राष्ट्रपति चिनफिङद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो । किड्नी प्रत्यारोपणपछि सफलतापूर्वक काममा फर्किएकोमा खुसी व्यक्त । उच्चस्तरीय भ्रमणका अलावा ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कबारे कुराकानी ।
२३ अप्रिल, २०२० । प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री शेख खालिनबीच टेलिफोन वार्ता ।
२२ अप्रिल, २०२० । प्रधानमन्त्री केपी शर्मा ओली र साइप्रसका राष्ट्रपति निकोसअनास्टसियड्सबीच टेलिफोन वार्ता ।
१३ अप्रिल, २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ इबीच टेलिफोन वार्ता । चीनले नेपालका लागि सीमा पुनः खोलेकोमा खुसी व्यक्त ।
१० अप्रिल, २०२० । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता । लकडाउन र कोभिड— १९ विरुद्धको लडाईंबारे कुराकानी ।
९ अप्रिल, २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल विन फरहान अल साउदबीच टेलिफोन वार्ता ।
६ अप्रिल, २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अस्ट्रेलियाका विदेशमन्त्री मारिज पाइनेबीच टेलिफोन वार्ता ।
२२ मार्च, २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पाकिस्तानका विदेशमन्त्री मक्दुम साह महमुद कुरेसीबीच टेलिफोन वार्ता ।
२० मार्च, २०२० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच टेलिफोन वार्ता ।
रिपोर्टर्स क्लब नेपालको संस्थागत स्मारिकाबाट