Logo

जनतालाई पानी नदिने, ट्यांकरलाई बेच्ने भन्दै दीपेन्द्र यसरी जंगिए !



काठमाडौं, ३१ चैत्र । प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले काठमाडौं उपत्यका खानेपानी लिमिटेडका बानेश्वर मीनभवन शाखाका प्रमुख इन्जिनियर नारायण कर्णसँग जनताको धारामा पानी नदिएको तर ट्यांकरलाई बेचेको आरोप लगाउँदै जंगिएका छन् । बानेश्वर , अनामनगर , कोटेश्वर, बबहरमहललगायतका क्षेत्रमा मेलम्चीको खानेपानी आपूर्ति सहज रूपमा हुन नसकेको जनताको व्यापक गुनासो आएपछि त्यहिँ क्षेत्रमा जनप्रतिनिधि रहेका उनले जनताको धारामा पानी नदिएर ट्यांकरलाई बेचिरहेको सुन्नमा आएको बताए ।

ट्यांकरलाई पानी बेचेर उपभोक्ताको धारामा पानी नपठाएको विषयमा प्रस्ट पार्नसमेत खानेपनी कार्यालय प्रमुख कर्णको ध्यानाकर्षण गराएका छन् । जनताको धारामा पानी दिन नसक्ने भए जिम्मेवारीबाट हट्न समेत कार्यालय प्रमुख कर्णलाई प्रदेशसभा सदस्य श्रेष्ठले चेतावनी दिए ।

आफूले काठमाडौंको विभिन्न क्षेत्रमा मेलम्ची खानेपानीको सहज वितरण नभएको , वितरण प्रणाली बिग्रिएको, नियमित पानी वितरण हुन नसकेकोलगायतका विभिन्न गुनासो लिएर जाँदासमेत समस्या समाधान नभएकाले आक्रोश व्यक्त गर्नु परेको सांसद श्रेष्ठको भनाई छ । उनले बबरमहल आर्कब्रिज मुनि पानी फुटेर बाटो बिग्रिएकाले तत्काल मर्मत गर्न समेत केयुकेएल मिनभवन शाखाको ध्यानाकर्षण गराए ।

‘काठमाडौं उपत्यका विकास प्राधिकरणलाई भन्यो मेलम्चीलाई देखाउँछ, मेलम्चीलाई भन्यो , केयूकेएललाई देखाउँछ’, सांसद श्रेष्ठले आक्रोश व्यक्त गर्दै भने, ‘यहाँ मान्छेलाई खानका लागि पानी छैन त्यहाँ खेर गइरहेको छ, पानी लिक भएका कारण दैनिक रुपमा दुर्घटना भइरहेको छ ।’, तत्काल जनताको धारामा सहज रुपमा पानी आपूर्तिको व्यवस्था नगरे आफूहरू जस्तोसुकै कदम चाल्न बाध्य हुने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्