काठमाडौं, बैशाख १ । बस्ती नजिकैको जंगलमा भीषण आगलागी हुँदा गाउँलेलाई सकस परेको छ। भीषण आगलागीका कारण गाउँ धुवाँले ढाकेको छ भने बस्तीमा आगो पस्ने त्रासले गाउँले रातभर सुत्न पाएका छैनन। एकैरातमा ठुलो वनक्षेत्र आगलागीले ध्वस्त भएको छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम र पोखरा महानगरपालिका–२५ सुइखेत नजिकका चारवटा सामुदायिक वनमा आगलागी भएको स्थानीयले बताएका छन्। भीषण आगलागीले गाउँ नै धुवाँले ढाकिएको स्थानीयले बताएका छन्। गाउँमै धुवाँ पस्ता श्वास फेर्नै सकस भएको स्थानीयले बताए।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा अन्नपूर्ण इको भिलेज रिसोर्ट चलाएका स्थानीय विश्वराज अधिकारीका अनुसार स्थानीय भतिनि, काउलापानी, खहतीखोला, धुवाउने वनपाला र धुवाउने झिझिर्का सामुदायिक वनमा आगलागी भएको हो। सोमबार दिउँसोदेखि आगो लाग्न थालेको उनले बताए। ‘सोमबार दिउँसो गाउँ नजिकैको वनमा आगलागी भएको थाहा पायौ। त्यसपछि २० जना जति गाउँले मिलेर निभाउन गयौं,’ अधिकारीले भने, ‘बेलुकीसम्म मुस्किलका साथ निभायौ। तर राती फेरि आगलागी फैलिँदा नियन्त्रणबाहिर पुगेको छ।’
उनका अनुसार वनपाला धुवाउँने वनबाट आगलागी सुरु भएको हो। ‘बेलुकी पुरै निभेपछि हामी घर फर्केका हौं। तर मध्यरातमा फेरि आगलागी भएको खबर आयो। मध्यरातमा निभाउन जान सकिएन,’ उनले, ‘बिहान सबेरै निभाउन जाँदा आगलागीले भीषण रुप लिइसकेको थियो।’ उनका अनुसार आगलागीको लप्को बढेर रिसोर्टसम्म पुग्न थालेपछि रिसोर्टका लागि संकलन गरिएको आकाशे पानी नै निकालेर निभाउने प्रयास गरिएको थियो। नागरिक दैनिकबाट